तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको विरोधकाबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेस 

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले नाराबाजी सुरु गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना असहमतिहरू विधि र प्रक्रियाबाट राखी छलफलको वातावरण बनाउन आग्रह गर्नुभयो । 

सभामुख सापकोटाले लगातारको संसद् अवरोधका कारण नागरिकले दैनिक जीवनमा भोग्दै आएका समस्याहरूको समाधान खोज्ने, सरकारलाई उत्तरदायी बनाउने जस्ता संसद्को न्यूनतम जिम्मेवारी समेत पुरा हुन नसकेको हुनाले आफ्नो भूमिका प्रति संवेदनशील हुन सांसदहरूलाई आग्रह गर्नुभयो ।

यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभामा विभिन्न ४२ वटा अत्यावश्यक विधेयकहरू विचाराधीन रहेको जानकारी दिनुहुँदै गतिरोध अन्त्य गरी राज्य सञ्चालनका लागि आवश्यक कानुन निर्माणमा सहयोग पुर्‍याउन समेत आग्रह गर्नुभयो । 

पटक–पटकको आग्रहपछि पनि नाराबाजीलाई निरन्तरता दिएपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷०७८ पेस गर्न समय उपलब्ध गराउनुभयो । 

यसैगरी, आजको बैठकले ३ जना पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । 

बैठकले २०६४ सालको संविधान सभामा नेपाली काँग्रेस बाट समानुपातिक तर्फका  सांसद जगतबहादुर ताजपुरिया, २०५८ सालमा नेकपा (एमाले) को तर्फबाट राष्ट्रिय सभामा निर्वाचित सांसद लक्ष्मीदास मानन्धर तथा २०७० सालको संविधान सभा निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट निर्वाचित सांसद डा.दुमन सिंह थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । 

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा शोक प्रस्ताव बाचन गर्दा भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले नाराबाजी बन्द गरी यथास्थानमा उभिएर प्रस्तावको समर्थन जनाउनुभएको थियो । 

प्रतिनिधि सभाको अर्को बैठक यही फागुन ६ गते शुक्रवार दिउँसो १ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button