शोक प्रस्ताव पारित गर्दै फागुन ६ गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न समयमा दिवङ्गत हुनुभएका तीन पूर्व सांसद तथा तत्कालीन संविधानसभाका सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छुट्टाछुट्टै पेस गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।
बैठकले नेपाली काँग्रेसको तर्फबाट २०६४ सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । ताजपुरियाको ७८ वर्षको उमेरमा गत पुस १७ गते शनिबार निधन भएको थियो ।
त्यसैगरी, बैठकले राष्ट्रियसभामा २०५८ सालमा तत्कालीन नेकपा (एमाले) का तर्फबाट निर्वाचित सदस्य नेता लक्ष्मीदास मानन्धरको निधनप्रति पनि शोक प्रस्ताव पारित गरेको छ । मानन्धरको ९३ वर्षको उमेरमा गत माघ ६ गते निधन भएको थियो ।
यस्तै,बैठकले २०७० सालको संविधानसभामा तत्कालीन एमालेका तर्फबाट निर्वाचित सदस्य डा दुमनसिंह थापाको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । थापाको ६३ वर्षको उमेरमा गत माघ १६ गते निधन भएको थियो ।
बैठकले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्