‘यही सरकारको पालामा निजगढ विमानस्थलको निर्माण कार्य शुरु हुन्छ’
बीरगंज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गठबन्धन सरकारले निजगढ अन्तर्राष्ट्रिय विमान स्थल निर्माण गरेरै छाडने सङ्कल्प गरेको हुँदा यही सरकारको पालामा विमानस्थलको निर्माण कार्य शुरु हुने बताउनुभएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमान स्थल निर्माण क्षेत्रको स्थलगत अवलोकनपछि आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले २०६४ सालदेखि शुरु भएको आयोजना पछिल्लो पटक अलपत्र परेकोमा दुःख व्यक्त गर्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ हजार हेक्टर क्षेत्रफल आवश्यक रहेकोमा ८ हजार हेक्टर क्षेत्रफलमा टागियावस्ती रहेको र त्यस क्षेत्रका बासिन्दाले मुआब्जा पाए आफूहरू स्थानान्तरण हुन तयार रहेको बताएको हुँदा तत्काल मुआब्जा वितरण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
अध्यक्ष नेपालले २०५१ सालदेखि निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको कुरा उठेको र आफू ५१ सालबाटै निजगढको पक्षमा रहेको बताउँदै देशको समृद्धि र विकासका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले प्रधानमन्त्री लगायत गठबन्धनका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थ, वन, पर्यटन मन्त्री सहित गठबन्धनका शीर्ष नेताहरू निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने पक्षमा रहेको हुँदा अब ढिलाइ नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले टांगियावस्तीका स्थानीयवासीले राखेको माग उचित मुआब्जा र रोजगारीको सुनिश्चितता गरी विमानस्थल नजिकै उहाँहरूलाई पुनर्स्थापन गर्ने लगायत विषयमा पनि सरकारले चाँडै टुङ्गो लगाउने दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल देशकै आवश्यकता रहेको र टांगियावस्तीको समस्या वातावरण, पर्यावरण र वनको व्यवस्थापन गरी तत्काल निर्माण कार्य शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा पर्यटन मन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भइरहेको एयर ट्राफिकलाई रोक्न निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक रहेकोमा जोड दिँदै गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्दा निजगढको आवश्यकता खडकिँदै गइरहेको उल्लेख गर्नुभयो ।
उहाँले टांगियावस्तीका माग सम्बोधन गर्दै अर्थ मन्त्रालयसँग तत्काल १०/१२ अर्ब रुपैयाँ मुआब्जाका लागि माग गरिएको बताउँदै प्रधानमन्त्री सहित अर्थमन्त्री बजेट दिन तयार रहेको खुलासा गर्नुभयो ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठ, वन तथा भूसंरक्षण मन्त्री राम सहायक यादव, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, मधेस प्रदेशका वन मन्त्री शत्रुघन महतो, नेपाल सरकारका अन्तर्राष्ट्रिय सम्बन्ध समितिका अध्यक्ष पवित्रा निरौला लगायतको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्