गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि क्यालिब्रेसन फ्लाइट हुने
रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि क्यालिब्रेसन फ्लाइट हुने भएको छ ।
क्यालिब्रेसन दिउसोको समयमा हुने भएपछि नियमित उडान तालिका केही दिनको लागि प्रभावित हुने भएको छ । फागुन ६ गतेदेखि १५ गतेसम्म विमानस्थलबाट ४ बजेपछि मात्र उडान हुने भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार ६ गते देखि क्यालिब्रेशन फ्लाइट हुने भएकोले नियमित रुपमा हुने आन्तरिक उडान ४ बजेपछि मात्र हुने भएको हो ।
क्यालिब्रेशन फ्लाइट ६ गतेदेखि १५ गतेसम्म हुने भएकाले नियमित उडान प्रभावित हुने उहाँको भनाइ छ । क्यालिब्रेशन फ्लाइटको लागि मौसम सफा चाहिने र त्यसैले ४ बजे सम्म नियमित उडान रोकेको उहाँको भनाइ छ ।
भैरहवाबाट आन्तरिकतर्फ काठमाडौँ, पोखरा र भरतपुरका लागि नियमित उडान हुने गरेको छ । दैनिक रुपमा अहिले २५ वटासम्म हुने उडान क्यालिब्रेशन फ्लाइटको समयमा प्रभावित हुने भएका छन् ।
भैरहवा विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि सबै तयारी भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्