तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज महानगरपालिकाद्वारा सुत्केरी र ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने अभियान शुरू

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने अभियान शुरू गरेको छ । 

नगरका बासिन्दालाई घरमै सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले महानगरले ‘मेयर घरदैलो स्वास्थ्य सेवा’ को थालनी गरेको छ । 

कोरोना महामारीको समयमा अस्पतालसम्म आउन समस्या खेपिरहेका गर्भवती, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । 

महानगरले पहिलो चरणमा वडा नम्बर १ देखि १६ नम्बर वडासम्म यो सेवा सञ्चालन गरेको छ । स्वास्थ्यकर्मीले ती वडाका लक्षित सेवाग्राहीलाई घरमै पुगेर सेवा दिइरहेको नगर प्रमुख सरावगीले बताउनु भयो । 

महानगरबाट खटिएका स्वास्थ्यकर्मीले स्थानीय बासिन्दाको घरमै पुगेर स्वास्थ्य परीक्षण, निःशुल्क औषधि र परामर्श सेवा प्रदान गरिरहेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । 

यसका लागि महानगरले १७ लाख रुपैयाँ बजेट छुट्याएको छ । नगरका बासिन्दा स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको र यो सेवालाई ३२ वडामै विस्तार गर्दै जाने योजना महानगरको रहेको सरावगीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button