तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका २९ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको पूर्ण खोप

तनहुँ । तनहुँमा १२ देखि १७ वर्षसम्मका २९ हजार भन्दा बढी बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत जिल्लामा २९ हजार २ सय ६३ जना विद्यार्थी लगायतका बालबालिकालाई पूर्ण खोप लगाइएको हो ।

पहिलो मात्रा मात्र लगाउने भने ३४ हजार ४४५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीका अनुसार व्यास नगरपालिकामा ७ हजार ७२५, शुक्लागण्डकी नगरपालिकामा ५ हजार ६२९, भानु नगरपालिकामा ३ हजार ३९ जना र भिमाद नगरपालिकामा २ हजार ७ सय जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, आँबुखैरेनी गाउँपालिकामा २ हजार ३७९, ऋषिङ गाउँपालिकामा २ हजार २१, बन्दीपुर गाउँपालिकामा १ हजार ७०४, देवघाट गाउँपालिकामा १ हजार ४५४, म्याग्दे गाउँपालिकामा १ हजार ४०४ र घिरिङ गाउँपालिकामा १ हजार २०८ जनाले खोप लगाएका हुन् ।

कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । जिल्लामा ३९ हजार ४ सय ३४ जना सो उमेर समूहका बालबालिका रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, जिल्लामा १८ वर्ष माथिका २ लाख ९ हजार २ सय १६ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने २ लाख २६ हजार ३ सय ९३ जनाले पहिलो मात्रा लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button