तपाईँ सुन्दै हुनुहुन्छः

याङमा गाउँको प्रमुख सञ्चारको माध्यम नै रेडियो

फुङ्लिङ । ठावा शेर्पालाई घरमा एक्लै बस्न  विरक्त लागेपछि रेडियो सुन्नुहुन्छ । गाउँका सबै याक गोठमा गएपछि गाउँ रुङ्गने एक्लै भएकाले  रेडियो नै उहाँको साथी बनेको हो । 

जीर्णोद्धार गरिएको र  काठले छाएको  घर  निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको  छानोमा एउटा अग्लो खम्बा गाडिएको छ तर त्यो  रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो । 

यो दृश्य हो ताप्लेजुङको जिल्लाकै उच्च  हिमाली तथा पूर्व नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७  को दुर्गम बस्ती  याङमाको हो । 

याङमा गाउँमा ११ घरपरिवार बसोबास गर्दै आए पनि  घरमा प्रायः ताल्चा लागेको देखिन्छ ।  यहाँका समुदायको प्राय याक गोठमै समय बित्छ । अहिले पनि गाउँमा खासै मान्छे भेट्न मुस्किल परे पनि  गाउँ रुङग्ने  ६६ वर्षका  उहाँलाई भने सहजै भेट्न सकिन्छ । 

त्यहाँ मोबाइलको टावर नभएकाले कसैसँग पनि न मोबाइल  छ न त टेलिभिजन नै । स्थानीयवासी सबैले रेडियो सुन्न सक्दैनन्  तर घरको छानोमा एन्टिनाको तार राख्न सक्नेले मात्र  रेडियो नेपाल र केही एक दुई वटा रेडियोको फ्रिक्वेन्सी भने सुन्न सक्ने शेर्पाले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “गोठमा गएपछि सबैको घर बन्द छ । मेरा साथी भनेको रेडियो हो ।” उहाँले रेडियोबाटै देश विदेशमा के भइरहेको छ भन्ने खबर प्राप्त गर्ने गरेको जानकारी दिनुभयो 

शेर्पाले भन्नुभयो,“अगाडि त कोशी एफएम पनि अलिअलि टिप्थ्यो तर हिजोआज त्यो पनि टिप्न छोड्यो ।” याङमा क्षेत्रमा एक दुई वटा रेडियोका फ्रिक्वेन्सी सुन्ने बाहेक अन्य सञ्चारमाध्यमका पहुँच पुग्न सकेको छैन । रेडियो पनि घरको धुरीमा तार राखेर एरियल जोड्नुपर्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो । 

सञ्चारको पहुँच नभएकै कारण कुनै विशेष वा संवेदनशील खबर समयमै नपाउँदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दाले बताए । उनीहरूका अनुसार कुनै जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एक दिन पैदल हिँडेर ओलाङ्चुङगोला पुग्नुपर्दछ । त्यहाँ भने करिब एक वर्ष अघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेकाले सञ्चार सम्पर्क गर्न सहज भएको हो । मोबाइलको टावर राख्नुअघि ओलाङ्चुङगोलामा पनि सञ्चारको समस्या उस्तै थियो । 

बर्खा याममा भने याङ्मा–ओलाङ्चुङगोला आवतजावत गर्न सक्ने अवस्था नभएको याङ्मावासीले बताए । याङ्मा खोलामा हिउँदमा काठे पुल हालेर  आवतजावत  गरिन्छ भने बर्खामा पुल बगाउने भएकाले ओलाङ्चुङगोलासँग सम्पर्क टुट्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो । 

उहाँका अनुसार याङ्मा गाउँदेखि एक/डेढ घण्टा दूरीको डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला स्काई मोबाइलमा सम्पर्क भए पनि सहजरुपले कुरा गर्न पाइँदैन ।

दुर्गम तथा दूरदराजको याङ्मामा थोरै परिवार र पातलो  बस्ती भएकाले सञ्चारको पहुँच पुर्‍याउन तत्काललाई कुनै योजना नभएको गाउँपालिकाले जनाएको छ । ओलाङ्चुङगोलावासी समेत रहनुभएका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले याङ्मासम्म सञ्चारको पहुँच विस्तार गर्ने कुनै योजना नरहेको जानकारी दिनुभयो  । 

केही वर्ष अघिसम्म विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा सञ्चालित स्याटलाइटमार्फत एस्टिएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्मा सञ्चारको पहुँच बाहिर पुगेको उहाँले बताउनुभयो।  

प्रवक्ता शेर्पाका अनुसार याङ्मासम्म कुनै सूचना आदानप्रदान गर्नुपरेमा मानिस नै जानुपर्ने वा चिठी पत्र पठाउनुपर्ने अवस्था छ ।

कुनै पनि सञ्चारमाध्यमका नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयम् मानिसको उपस्थिति वा चिठी पत्रबाहेक अर्को विकल्प नभएको अर्का स्थानीयवासी टासीफिन्जो शेर्पाले शेर्पाले बताउनुभयो ।   

याङ्माका बासिन्दाको मुख्य व्यवसाय भनेको परम्परागत याक पालन हो । प्रायः याक गोठमै समय बिताउने याङ्मावासीले गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउने वा सुसेल्नु पर्ने हुन्छ ठूलो आवाजमा कराएको र सुसेलेको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको याक गोठाला कान्देग्याबु शेर्पाको भनाइ थियो  । 

यसरी स्थानीय शैलीको खबर आदानप्रदानले हालसम्म सञ्चार गर्ने गरिए पनि  अहिलेको सूचना र प्रविधिको समयमा पूरै गाउँ बस्ती सञ्चार विहीन अवस्थामा रहनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल (क्यान) जिल्ला  अध्यक्ष विष्णुकुमार लिम्बूले बताउनुभयो ।  

तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पुर्‍याउनका लागि आवश्यक पहल गर्नुपर्ने उहाँको माग थियो  ।

हिमाली बस्ती याङ्मामा हाल १० परिवार बस्दै आएका छन् भने यहाँको जनसङ्ख्या करिब ४० जना रहेको बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button