नाग्म–जुम्ला सडक खण्ड दुई लेन निर्माणसँगै कालोपत्रे हुँदै

जुम्ला । कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–जुम्ला सडक खण्ड डबल लेन निर्माण भएसँगै कालोपत्रे हुने भएको छ ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म नाग्म–जुम्ला सडक खण्ड ४ किलोमिटर सडक डबल लेन निर्माण, नाला छोडेर ७ मिटर चौडा गरी कालोपत्रे गरिने छ ।
दुई ठेक्कामार्फत सडक चौडा, डबल लेन निर्माणको काम भइरहेको छ । गएको कात्तिक महिनाबाट काम सुरु भएकोमा हालसम्म दुवै ठेक्काको ३० प्रतिशत काम सम्पन्न भएको छ ।
कालिकोटको नाग्मदेखि पूर्व र जुम्लाको रारालिहिदेखि पश्चिम तर्फको जोखिम सडक खण्ड डबल लेन निर्माण, नाला निर्माण र चौडा बनाई स्तरबृद्धिको कामले गति लिएको छ ।
थुदुन कन्स्ट्रक्सन र महादिप खिम्ती अन्जना खड्का जेभी निर्माण कम्पन्नीले सडक निर्माणको ठेक्का लिएका छन् ।
सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले चालु आव भित्रै नाला निर्माण, अडबल लेन निर्माण गरी ४ किमी सडक कालोपत्रे समेत गरिसक्ने सम्झौता भएको बताउनुभयो । उहाँका अनुसार पाँच÷पाँच करोडको लागतमा दुई निर्माण कम्पन्नीले काम गर्दै छन् । निर्धारित समयमै सडक निर्माण सम्पन्न हुने अपेक्षा छ ।
जोखिम मानिएको उक्त सडक सडकलाई सुरक्षित बनाउन १० करोड लगानीमा डबल लेन निर्माण गरी कालोपत्रे गर्न लागिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
निर्माण व्यवसायीहरूले प्रतिकुल मौसमका बावजुत पनि सडक निर्माण कार्यलाई गति दिएका छन् । कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न जोखिम खण्डमा सडक स्तरबृद्धिलाई अगाडी बढाइने लक्ष्य समेत राखिएको छ ।
सम्झौता अनुसार गुणस्तरीय एवम् छिटो छरितो काम अगाडी बढाउन कार्यालयले पनि नियमित निगरानी राखेको र निर्माण व्यवसायीहरूले पनि जिम्मेवारी पूर्वक काम गरिरहेकोले निर्धारित समयमै डबल लेन निर्माण भएर सडक कालोपत्रे हुने अपेक्षा गरिएको सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाई छ ।

नाग्म–गमगडी सडक ग्राभेल हुँदै
वर्षौँदेखि अलपत्र नाग्म–गमगडी सडक खण्डको जिरोदेखि १३ किमी सम्मको सडक ग्राभेल भइरहेको छ ।
सम्झौता अनुसार काम नभएपछि म्याद सकिए पनि जरिवाना तिराएर पुनः ग्राभेलको काम सुरु गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।
सांसद बहादुर लामाले लिएको उक्त ठेक्का वर्षौँदेखि अलपत्र थियो । पछिल्लो समय सडक डिभिजन जुम्लाले ताकेता दिएपछि बल्ल जिरोदेखि १३ किमी सम्मको सडक ग्राभेलको काम सुरु भएको सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार उक्त सडक खण्डको ग्राभेलको काम झन्डै ८५ प्रतिशत सम्पन्न भएको छ ।
नाग्म–गमगडीकै १७ देखि २५ किमी खण्ड पनि स्तरबृद्धि भइरहेको छ । नाग्म–गमगडी सडकका विभिन्न खण्डहरु क्रमागत रुपमा स्तरबृद्धिको काम भइरहेको जनाइएको छ ।
पुस माघमा चिसो र हिमपातका कारण पूर्वाधार निर्माणमा समस्या देखिएको छ । यद्यपि पूर्वाधार विकास कार्यालय, सडक डिभिजन, सघन सहकारी तथा भवन निर्माणको कार्यालयले आफ्ना कामलाई अगाडी बढाएको छ ।








प्रतिक्रिया राख्नुहोस्