तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ ।  सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ः०० बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराउनुभएको थियो ।

प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली काँग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ हुनुहुन्छ । 

यस्तै, समर्थकमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद हुनुहुन्छ । यता सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक भने यही फागुन ४ गते बुधवारका लागि सारिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button