तपाईँ सुन्दै हुनुहुन्छः

न्याय प्रशासनलाई छिटो छरितो र जनउत्तरदायी बनाउने भूमिका खेल्न कर्मचारीलाई निर्देशन

काठमाडौँ । न्याय सेवाअन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सेवा प्रवेश तालिम सुरु भएको छ । 

न्याय सेवा तालिम केन्द्रद्वारा आयोजित तालिमको आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्घाटन गर्नुभयो । 

सो अवसरमा मन्त्री बडूले न्याय सेवाअन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहमा प्रवेश गरेका शाखा अधिकृतहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै उच्च मनोबलका साथ सेवा प्रवेश गर्न आग्रह गर्नुभयो । 

सार्वजनिक सेवामा संलग्न कर्मचारीहरूले सधैँ उत्कृष्ट कार्य गरी सेवाग्राही र सरोकारवालालाई सन्तुष्टि प्रदान गर्न सक्नुपर्ने भन्नुहुँदै उहाँले लोकतन्त्रमा सेवाग्राही जनता सबैभन्दा ठुला हुन् भन्ने मनन गरेर छिटो र गुणस्तरीय सेवा सम्पादन गर्नुपर्ने धारणा राख्नुभयो । 

“सेवाग्राहीले तपाईँहरूको अनुहारमा सरकार देख्छन् र त्यहीअनुसार सरकारप्रति धारणा बनाउँछन्’ मन्त्री बडूले भन्नुभयो ‘न्याय सम्पादन प्रक्रियालाई छिटो छरितो, न्यायमा सहज पहुँच, अनुसन्धान पद्धतिलाई वस्तुनिष्ठ एवं पूर्ण गराउन र न्यायका लागि आएका सेवाग्राहीलाई सन्तुष्ट गराउन लाग्नुहोस् ।”

मन्त्री बडूले ढिलो न्याय दिनु न्याय नदिनु सरह भएकोले न्याय प्रशासनलाई छिटो छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष प्रभावकारी र जनउत्तरदायी बनाउन भूमिका खेल्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  

तालिम उद्घाटन कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा। राजन खनाल, कार्यक्रमका अध्यक्ष एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा, न्याय सेवा तालिम केन्द्रका तालिम प्रमुख बलसागर गिरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

एक महिनासम्म सञ्चालन हुने तालिममा न्याय सेवाअन्तर्गत नियुक्त भएका ११४ जनामध्ये ११३ जना सहभागी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button