सूचनामा नागरिकको पहुँच पुर्याउन रेडियोको भूमिका महत्त्वपूर्ण : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचनामा नागरिकको पहुँच पुर्याउन रेडियोको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
११औँ विश्व रेडियो दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले मुलुकका विभिन्न राजनीतिक परिवर्तनमा र जस्तोसुकै विपद्को अवस्थामा पनि रेडियोले आफ्नो भूमिका निर्वाह गरिरहेको भन्दै सङ्घीयताको मर्म स्थापित गर्न पनि रेडियोको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
सञ्चार मन्त्री कार्कीले सकारात्मक सन्देश र सूचनाको पूर्ण हक जनतालाई दिलाउन नेपालको प्रेस र रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै यसलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सरकार सधैँ सकारात्मक रहेको प्रष्ट पार्नुभयो ।
मन्त्री कार्कीले एमसीसी विशुद्ध आर्थिक परियोजना भएकाले यसलाई स्वीकार गरी मुलुकलाई विकासको दिशातर्फ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
एमसीसीका विषयमा देखिएका फरक धारलाई संसद्मा छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने पनि उहाँले बताउनुभयो ।
सत्ता गठबन्धन विशेष परिस्थितिमा रहेकोले गठबन्धनमा देखिएका समस्यालाई छलफलका माध्यमबाट समाधान गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ, अकोराब र ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल, बानको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले राज्यले रेडियोको भूमिकाको पहिचान गरी त्यसका समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अकोराबका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोले खेलेको भूमिकाको राज्यले कदर गर्नुपर्ने भन्दै यसको संरक्षणमा पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बानका पूर्व अध्यक्ष गोपाल झा, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल लगायतले मिडिया विरोधी कानुन खारेज गरिनुपर्ने उल्लेख गर्दै राज्यले अन्य उद्योगधन्दालाई जस्तै रेडियोलाई पनि राहत प्याकेजको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्