तपाईँ सुन्दै हुनुहुन्छः

रेडियोहरूको स्थान सञ्चार जगतमा अग्रपङ्क्तिमा रहेको छ : कार्यकारी निर्देशक केसी 

काठमाडौँ । “रेडियो र विश्वास (Radio and Trust)को नारा ” नाराका साथ आज ११औँ विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । 

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ मा हरेक वर्षको फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

विश्व रेडियो दिवसका अवसरमा नेपालको सबैभन्दा जेठो प्रसारण संस्था रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सबै रेडियो प्रसारण संस्था एवं रेडियोकर्मीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । 

उहाँले  विश्व रेडियो दिवस २०२२ मा आइपुग्दा आमसञ्चारका अन्य साधनहरूभन्दा रेडियो नै बढी विश्वसनीय श्रोत मान्न सकिनेतर्फ इङ्गित गरेको बताउनुभयो । उहाँले आजको सूचना प्रविधिको युगमा रेडियोहरूले आफ्ना स्तरीय र भरपर्दा विषयवस्तु, प्रसारण पहुँच, श्रोता प्रतिको जिम्मेवारी तथा लोकप्रियता र प्रतिस्पर्धामार्फत विश्वसामु आफ्नो भूमिका र प्रभावकारितालाई प्रमाणित गर्दै आएको भन्नुहुँदै  विश्व रेडियो दिवसको मुख्य विषयवस्तु नै ‘रेडियो र विश्वास’ राखिनुमा सान्दर्भिकता रहेको बताउनुभयो । 

उहाँले आम श्रोता समक्ष नजिक भएर समाजमा जनचेतना फैल्याउन र समाज रूपान्तरणमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका रेडियोहरूको स्थान सञ्चार जगतमा अग्रपङ्क्ति रहेको बताउनुभयो । 

अझ आजभोलिको जस्तो महामारी र विपद्को अवस्थामा त रेडियोहरूको महत्त्व झन् बढेको बताउनुहुँदै कार्यकारी निर्देशक केसीले सहज अवस्थामा मात्र नभएर भूकम्प, सुनामी, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका समयमा पनि रेडियोहरूले मानव जीवन रक्षा र सूचना सन्देश प्रवाहमा उत्तिकै जिम्मेवारी देखाउँदै आएको बताउनुभयो । 

नेपालमा २००७ सालदेखि नै प्रसारण क्षेत्रको अग्रणी संस्था रेडियो नेपालले जनचेतनाको लहर ल्याउन तथा सूचना र मनोरञ्जन प्रदान गर्न, प्राकृतिक प्रकोपका बेलामा पनि अग्रस्थानमा रहेर सार्वजनिक दायित्वको भूमिका निर्वाह गरेको स्मरण गर्नुहुँदै उहाँले समयक्रमसँगै सन् १९९० को दशकमा नेपाल भित्र स्वतन्त्र रुपमा स्थापना भएका एफ एम रेडियोहरूले पनि जनजागरण अभियानमा उत्तिकै भूमिका खेलेको बताउनुभयो  । 

उहाँले रेडियोको स्थापना कालदेखि हालसम्मको अवस्थालाई नियाल्दा रेडियोहरूको प्रसारण प्रविधि, विषयवस्तु छनौट र प्रस्तुतिको शैलीमा मनग्गे परिवर्तन आएको भन्नुहुँदै उहाँले वर्तमानमा Terrestrial Radio मात्र नभएर  Internet/Digital Radio समेत प्रचलनमा आइसकेको बताउनुभयो । 

उहाँले आज ११औँ विश्व रेडियो दिवसको अवसरमा Radio and Trust को नारा साकार गर्न विषयवस्तुको विविधता, प्रसारण पहुँच र  स्वस्थ प्रतिस्पर्धाद्वारा तमाम प्रकार र प्रविधिका रेडियोहरुबीच आपसी समझदारी, समन्वय, सहकार्य र सहयात्रा हुन सकोस् र समाजको सकारात्मक परिवर्तनमा रेडियोहरूले थप सेवा दिन सकुन् भन्ने शुभकामना समेत व्यक्त गर्न भएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button