झापा गोल्डकपका लागि मैदान स्तरोन्नति सुरु
झापा । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ ।
यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रङ्गशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

रङ्गशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु गरिएको हो । डोमालाल राजवंशी रङ्गशाला देशभरका खेल मैदानहरूमध्ये उत्कृष्ट मानिन्छ । खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने बस्नेतले बताउनुभयो ।
रङ्गशालामा करिब १० हजार दर्शक बस्न सक्ने गरी बाँसको प्यारापिट पनि निर्माण गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिनुभयो । नेपालकै उत्कृष्ट र आकर्षक मानिएको फुटबल मैदान डोमालाल राजवंशी रङ्गशालाको स्तरोन्नतिका लागि तीव्र गतिमा काम भइरहेको पौडेलले उहाँले बताउनुभयो ।
पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।
झापा गोल्डकपको फाइनल खेल फागुन ३० गते हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्