तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी नेपालको पूर्वाधार विकासका लागि आउन लागेको : काँग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले एमसीसी इण्डोप्यासिफिक रणनीति र सैन्य प्रयोजनका लागि नभई नेपालको पूर्वाधार विकासका लागि आउन लागेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आज काठमाडौँमा डा. महत पार्टी प्रवक्ता र प्रेस युनियनका पूर्व सभापति समीरजंग शाह नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष हुनुभएकोमा बधाई दिन आयोजित कार्यक्रममा डा. महतले सस्तो लोकप्रियताको लागि राष्ट्रिय हित विपरीत अभिव्यक्ति नदिन सबै पक्षलाई आग्रह गर्नुभयो ।

उहाँले विगतमा जसरी अरुण तेस्रो आयोजना फर्काएर वषौंसम्म देशलाई अन्धकार बनाउने काम भयो त्यसैगरी एमसीसीलाई पनि बदनाम गराएर फर्काउने प्रयत्न भएकोले त्यस्तो झुटो प्रचारलाई निस्तेज गरी यथार्थता बाहिर ल्याउने काम सञ्चार जगतले गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको परराष्ट्र नीतिलाई अहिले असन्तुलन गर्ने काम भइरहेको भन्दै त्यसलाई रोक्नु प्रमुख आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले सबै दलले सहभागी जनाएर नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादीको संयुक्त सरकार भएको समयमा अनुमोदन भएको एमसीसीको अहिले आएर  विरोध हुनु शङ्कास्पद विषय भएको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले आफु देश र जनताको हितमा नेपाल टेलिभिजनलाई अगाडि बढाउन प्रयत्नरत रहने बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले विगतको सरकारले ल्याएको मिडिया विरोधी कानून खारेज गर्न माग गर्दै मिडियामैत्री वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button