तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापति र रक्षा सचिव द्वारा महेन्द्रनगरमा होल्डिङ सेन्टरको निरीक्षण

कञ्चनपुर । प्रधानसेनापति प्रभुराम शर्माले महेन्द्रनगरमा निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गर्नुभएको छ। शर्माले शुक्रवार बिहान सेनाको श्री नं.२५ बाहिनी नजिकै निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गर्नु भएको हो ।

फरक खालका सामानहरू प्रयोग गर्दा आर्थिक रुपमा प्रश्न उठ्न सक्ने बताउँदै उहाँले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भएको छ । होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सनका प्रमुख गोकर्ण न्यौपानेले काम तोकिएको समयमै सम्पन्न हुने बताउनु भयो।

महेन्द्रनगरको सालघारी क्षेत्रमा १ हजार बेड क्षमताका २० वटा ठुला बेडसहितका संरचना, ५० बेड क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि, २२ वटा शौचालय र १५ भान्सालगायतका संरचना निर्माण भइरहेका छन्। उक्त निर्माणका लागि २९ करोड २५ लाखमा ठेक्का सम्झौता बताइएको छ।

प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरण शर्मा, प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय लगायतले होल्डिङ सेन्टरको निरीक्षण गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button