हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला । भारी हिमपातका अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालनमा आएको छ । कर्णालीमा गएको विहिबार साँझदेखि भएको भारी हिमपातले अवरुद्ध भएको नाग्म–गमगडी बुधवार बिहानदेखि सञ्चालनमा आएको हो ।
झण्डै ३ फिट भन्दा बढी हिउँ जमेपछि अवरुद्ध भएको सडक निरन्तर डोजरले हिउँ पन्छाएर सञ्चालनमा ल्याइएको सडक डिभिजन जुम्लाका निमित्त कार्यालय प्रमुख सन्तोष भण्डारीले बताउनुभयो । उहाँका अनुसार नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिना गाउँसम्म सडकमै झण्डै ३ फिट भन्दा बढी हिउँ जमेपछि सडक बन्द भएको थियो ।
हिमपातले जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलबुलेमा पनि बाक्लो हिउँ जमेपछि सडक अवरुद्ध भएको र हिमपातकै बीच जनशक्ति र मेसिन तैनाथ गरी सडक सञ्चालनमा आएको भण्डारीले जानकारी दिनुभयो ।

बोतादेखि पिनासम्म उकालोमा झण्डै ७ वटा मोड रहेको र हिउँ बाक्लो जमेकोले समय लागेको बताइएको छ । निमित्त प्रमुख भण्डारीले भन्नुभयो,“सडक सुचारु भएसँगै साना ठुला माल बाहक र यात्रु बाहक सवारी सञ्चालनमा आएका छन् । भने खाद्यान्नदेखि निर्माण सामाग्री आयात पनि सहज भएको छ ।”
त्यस्तै जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएपनि अझै सञ्चालनमा आएको छैन । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् ।
साथै,जुम्लाका आठै पालिका जोड्ने ग्रामीण सडकहरू पनि हिमपातले अवरुद्ध भएका छन् । कर्णाली राजमार्गको त्रिवेणी हुदैं ताम्ती टोप्ला इमिल्छा जाजरकोट जोड्ने सडक,जुम्ला सदरमुकामदेखि पातारासी जोड्ने सडक,जुम्लाबाट गुठिचौर जाड्ने सडक लगायतका दर्जनौँ अवरुद्ध ग्रामीण सडक पूर्ण सञ्चालनमा आएका छैनन् ।







प्रतिक्रिया राख्नुहोस्