अदुवा बिक्री नभएपछि सुठो बनाउँदै सल्यानका किसान

सल्यान । अदुवा उत्पादनका हिसाबले सल्यान अग्र स्थानमा आउँछ । बोसे जातको अदुवा सल्यानमा मात्र उत्पादन हुन्छ । नगदे बालीको रुपमा रहेको अदुवा बर्सेनि जिल्लामा ठूलो परिमाणमा उत्पादन हुन्छ तर बजार भने पाउन सकेको छ्रैन ।
बिक्रीका लागि अदुवा उत्पादक कृषक अझै पनि भारतकै भर पर्नुपर्ने अवस्था रहेको छ । यो वर्ष पनि अदुवा बिक्री नभएपछि सल्यानका किसान चाना र सुठो बनाउन बाध्य भएका छन् । नगदे बालीको रुपमा रहेको अदुवा खरिदमा आलटाल भएपछि अदुवा व्यवसायी र कृषक मारमा परेका छन् । अदुवा बिक्री नहुँदा चाना र सुठो बनाइ रहेको बागचौर नगरपालिका – २ का सुरेश वलीले बताउनुभयो ।
४० क्विन्टल अदुवा उत्पादन भए पनि बिक्री नभएपछि चाना र सुृटो बनाइरहेको बताउनुभयो । काँचो ७ क्विन्टलको सुकाउँदा १ क्विन्टल मात्र हुने बताउँदै उहाँले सुठोले पनि राम्रो मूल्य नपाएको बताउनुभयो । उहाँले भन्नु, “बारीमा कुहाएर फाल्नुभन्दा सुकाएर सुठो बनाइरहेका छौँ । २० रुपैयाँ प्रतिकिलो लैजाउभन्दा पनि कुनै पनि व्यापारीले लिन मान्दैनन् । लगानी नै उठाउन गाह्रो भएको छ ।”
पुसको अन्तिम सातासम्म बिक्री भइसक्ने अदुवा किन्ने कुनै व्यापारी नआएपछि १० रोपनीमा लगाएको अदुवा स्टोर गरेर राखेको शारदा नगरपालिका –१४ माल्नेटाका दीपक गिरीले बताउनुभयो ।

अदुवाले मूल्य नपाएपछि माल्नेटाका अधिकांश किसानले अदुवा स्टोर गरेर राखेको उहाँले बताउनुभयो । स्टोर गरेर राखेको भए पनि प्रशोधन केन्द्र नहुँदा कुहिन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्री हुन्छ की भन्ने आशामा अहिलेसम्म राखेका छौँ अब पनि बिक्री नभए सुठो बनाउने त होला ।”
जिल्लामा १ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा २९ हजार ६७ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
गत वर्षको भन्दा यो वर्ष अदुवा उत्पादन बढेपनि अहिलेसम्म अदुवाको माग नआएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले बताउनुभयो ।
सल्यानको अधिकांश अदुवा भारत निकासी हुने गरेको र कोरोनाका कारण कुनै पनि व्यापारी खरिदका लागि आउन नसकेको उहाँको भनाई छ ।
जिल्लाबाट अहिलेसम्म कुल उत्पादनको करिब ३३ प्रतिशत मात्र अदुवा जिल्ला बाहिर निकासी भएको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्