तपाईँ सुन्दै हुनुहुन्छः

७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइने

सञ्चार सचिव बैकुण्ठ अर्याल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको गठन गरिएको छ । 

मूल समारोह समितिले यही फागुन ६, ७ र ८ गते विविध कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गर्नुका साथै कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।

 मूल समारोह समितिको आयोजनामा फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना हुनेछ भने जिल्लाहरूमा समेत विविध कार्यक्रमहरू आयोजना हुनेछन् । 

प्रजातन्त्र दिवसका अवसरमा देशैभरि दीपावली गर्ने, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र राष्ट्रिय झण्डा प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरू राखिएको मूल  आयोजक समितिले जनाएको छ । 

टुँडिखेलमा आयोजना हुने मूल समारोहको रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छन् भने प्रत्यक्ष प्रसारण गर्न इच्छुक अन्य प्रसारण संस्थाले रेडियो नेपाल र नेपाल टेलिभिजन सँग समन्वय गरी गर्नुपर्ने छ । 

यसैबीच ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस प्रचारप्रसार उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले प्रजातन्त्र दिवस भव्यताका साथ सम्पन्न गर्न यसको महत्त्वबारे परिसंवाद, जागरण गीत, सन्देशहरूको प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको छ । 

बैठकले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, राष्ट्रिय  समाचार समिति लगायतका सञ्चार माध्यमबाट प्रजातन्त्र दिवस सँग सम्बन्धी सन्देशमूलक सामग्रीहरू प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको हो । 

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक डा. वैकुण्ठ अर्यालले प्रजातन्त्र दिवसका अवसरमा सरकारी सञ्चार माध्यमहरूले अग्रणी भूमिका खेल्दै यस दिवसको महत्त्वलाई जनजनका बीच पुर्‍याउन जरुरी रहेको बताउनुभयो । 

बैठकमा सहभागी रेडियो नेपाल, नेपाल टेलिभिजन, रासस, गोरखापत्र, नेपाल टेलिकम लगायत विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले विगत देखि नै यस दिवसलाई महत्त्वका साथ स्थान  दिँदै आएको उल्लेख गर्दै यस पटक अझ बढी आकर्षक ढङ्गले अगाडि बढ्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button