तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षा ७५३ स्थानीय तहमै पुर्‍याउँछौँ : शिक्षामन्त्री पौडेल

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहु प्राविधिक शिक्षालय पुर्‍याउने बताउनुभएको छ । कास्कीमा अन्नपूर्ण बहु प्राविधिक शिक्षालयको भवन मङ्गलवार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहु प्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्‍याउने बताउनुभयो । 

“प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँगमा जोड्नुपर्छ”मन्त्री पौडेलले भन्नुभयो,“मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहु प्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ ।”

मन्त्री पौडेलले अन्नपूर्ण बहु प्राविधिक शिक्षालयलाई नमुनाका रुपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने बताउनुभयो । 

“भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु”मन्त्री पौडेलले भन्नुभयो, “अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ ।”

मन्त्री पौडेलले ३ वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालयले योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै ४ देखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुने बताउनुभयो ।

पढ्दै कमाउँदै कार्यक्रमले सिपलाई श्रमसँग जोड्ने बताउँदै ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने बताउनुभयो । 

२०७६ साल असोज ७ गते आङ्गिक क्याम्पसको रुपमा सञ्चालन भएको अन्नपूर्ण बहु प्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले ५ करोड छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्स्ट्रक्सन प्रालिले ३ करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा ४ तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

माछापुच्छ्रे माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोडमा खरिद गरी बहु प्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको सङ्घीय सांसद दुर्गा विकले बताउनुभयो । 

अहिले बहु प्राविधिक शिक्षालय घर भाडामा लिएर सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button