गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनमा ल्याउन लागिएको छ : मन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासनलाई समयसापेक्ष, सुदृढ एवम् नागरिकमैत्री बनाउँदै लैजान गृह प्रशासन सुधार कार्य योजना कार्यान्वयनमा ल्याउन लागिएको बताउनुभएको छ ।
मन्त्रालयमा आज गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गर्दै गृहमन्त्री खाँणले प्रविधिको विकास र गतिशीलता अनुसार शान्ति सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउँदै लैजान कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।
गृहमन्त्री खाँणले नियमित सुधार अन्तर्गत नै गृह प्रशासन सुधारको कार्य योजना तय गरी कार्यान्वयनमा ल्याइएको बताउँदै साझा प्रतिबद्धताका रुपमा कार्यान्वयनमा जाने विश्वास व्यक्त गर्नुभयो ।
गृह सचिव टेक नारायण पाण्डेले गृह प्रशासन सञ्चालनसँगै शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्षेत्रमा सूचक सहितको उपलब्धि र समय सीमा तोकेर प्रशासन सुधारको कार्य योजना तयार गरिएको जानकारी दिनुभयो ।
उहाँले गृह प्रशासन सम्बद्ध कानुन परिमार्जन गर्ने लगायत सेवा प्रवाहलाई प्रविधिमैत्री र सहज बनाउँदै लैजान कार्य योजना महत्त्वपूर्ण हुने बताउनुभयो ।
मन्त्रालयले गृह प्रशासन सुधार कार्य योजना २०७८ मा नीतिगत तथा कानुनी सुधार, शान्ति सुरक्षा र अपराध नियन्त्रण, सङ्गठनात्मक सुधार एवम् भौतिक पूर्वाधार, सेवा प्रवाह र सुशासन लगायत विभिन्न १० वटा विषयगत क्षेत्रमा २ सय ६ वटा विभिन्न क्रियाकलाप समावेश गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्