तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीनता पनि लोप हुँदै       

 मनाङ ।  पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । 

हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुसी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन् ।  

कमै मात्र हिउँ पर्ने स्थानमा हिमपात भएपछि भने आन्तरिक पर्यटकमा खुसी छाएको छ । हिमपात नहुने स्थानमा परेपछि हिउँ खेल्नु र सामाजिक सञ्जालमा ‘भाइरल’ गराउनु धेरैको रहर सपनाको विषय बन्ने गरेको पाइन्छ । नेपालका धेरै स्थान तथा गाउँलाई हरेक वर्ष हिउँदमा हिउँकै कारण सकस र सास्तीमा जीवनयापन गर्नुपर्ने बाध्यता भएको मध्ये हिमालपारिको जिल्ला मनाङ एउटा ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ ।          

हिमाली क्षेत्रअन्तर्गत माथिल्लो मनाङवासीले यार्तुङ पर्व मनाएपछि वर्षायाम सकिएर हिउँदयाम सुरु भएको भन्ने बुझिन्छ । वर्षायामको खेतीपाती थन्क्याएपछि माथिल्लो मनाङले साउनको अन्तिममा यार्तुङ मनाउँछन् । त्यसपछि हिउँदका उराठिला महिना सुरु हुन्छ ।          

दुवै याममा निर्माण ठप्प 
हिउँदमा अत्यधिक चिसो र हिमपात पर्ने भएकाले माथिल्लो मनाङवासी जाडो र हिमपात छल्न बेँसी झर्ने गर्छन् । वर्षायाममा पानी पर्ने हुँदा यहाँको पर्यटकीय गतिविधि र विकास निर्माणका काम पूर्ण रुपमा ठप्प हुने गर्छ ।          

हिमाली जिल्ला मनाङमा जाडोयाममा हिमपातले विकास निर्माणको काम तथा पर्यटन व्यवसायका काम कारबाही गर्न सकिँदैन । 

त्यतिबेला आवश्यक सामग्री ढुवानी तथा विकासका कार्य गर्दा पहिले हिउँ फाल्नुपर्ने समस्या हुन्छ । विकासको काम सकिनुभन्दा बढी हिउँ फाल्दा खर्च बढी लाग्न सक्ने भएकाले हिउँदमा पनि विकासका कार्य गर्न सकिँदैन । वर्षायाममा कहिले पनि पानी नपर्ने हिमाली जिल्ला मनाङमा पानी परेर बाढी पहिरो आएपछि विकासका कार्य गर्न सकिँदैन ।     

गत असारदेखि यता परेको वर्षाले गर्दा यहाँ धेरै क्षति बेहोर्नुपरेको छ । पानी नपरे पनि पहिरो खस्ने गरेको विकट जिल्ला मनाङमा यस वर्ष वर्षा भएपछि धेरै भौतिक क्षति भयो । पुनः निर्माणको काम अझैसम्म पनि पूरा भएको छैन ।          

जाडो छल्न बेँसी 
बर्सेनि कात्तिकदेखि फागुनसम्म मनाङमा हिउँ पर्ने गर्छ । सो अवधिमा माथिल्लो मनाङका अधिकांश घरमा ताल्चा मारिएका हुन्छन् । घरका एकाध मात्र पशुचौपाया र घरको रेखदेख गर्न बसेका व्यक्ति मात्रै हुन्छन् । त्यतिबेला यहाँका सबै मानिस जाडो छल्न र घुम्ती व्यापार गर्न जिल्ला बाहिर निस्कन्छन् । तल्लो मनाङका पनि कतिपय पर्यटन व्यवसायी र बासिन्दा पनि जाडो छल्न पोखरा, काठमाडौँ जाने गर्छन् ।

हिउँदमा जिल्लाका सबै नागरिक बेँसी झर्ने यहाँको पुर्ख्यौली परम्परा हो । हिउँदमा यहाँ अत्यधिक चिसो हुने र जनजीवन प्रभावित हुने भएकाले मनाङबासी बेँसी झर्नु रहर नभई बाध्यता हो । अत्यधिक चिसो र हिमपातले घरका धारा, सेफ्टी ट्याङ्की, सिँचाइ कुलोलगायत जमेर दैनिक जीवनयापनमा असर पुर्‍याउने भएकाले पनि उनीहरू बेँसी वा जिल्ला बाहिर जान बाध्य छन् । यसरी बेँसी झर्दा घरपालुवा पशुचौपाया र ससाना बालबालिकाको रेखदेख र व्यवस्थापनमा उत्तिकै समस्या पर्छ । हिउँदका महिना जिल्लाका सरकारी कार्यालयसमेत करिब करिब सुनसान नै हुन्छन् ।     

जलवायु परिवर्तनको प्रभाव 
जलवायु परिवर्तनको प्रभावका कारण पछिल्ला वर्षमा स्वाभाविक हिउँ पर्न सकिरहेको छैन । हरितगृह ग्यास उत्सर्जनका कारण वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभावले हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने गरेको पाइएको छ । 

मनाङमा कुनै वर्ष अत्यधिक तथा कुनै वर्ष आंशिक हिमपात हुने गर्छ । कुनै वर्ष हिमपातसँगै तल्लो मनाङमा भारी वर्षा हुने गरेको छ । विगतमा हिमपातका कारण सयौँ याक, चौँरी र भेडा च्याङ्ग्रा खर्कमा हिउँमा पुरिएर मरे । त्यसपछि माथिल्लो मनाङमा त्यस्तो भारी हिउँ भने परेको छैन ।          

स्थानीयवासी चौंरीपालक किसान याङदुङ गुरुङ विगतमा जस्तो हिउँ नरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा हिमपात धेरै हुन्थ्यो । चौँरी खर्कहरू हिमपातले पुरिने गर्थ्यो । अहिले बेमौसममा हिमपात हुन्छ । विगतमा कात्तिक, मङ्सिरमा मात्रै हिउँ पर्ने गर्थ्यो तर अहिले बेमौसममा हिउँ पर्छ । यसले गर्दा बस्तुभाउको चरण क्षेत्र नासिएको छ ।” चरण क्षेत्र नासिएपछि युवाहरू पशुपालनबाट विमुख भएको उहाँको बुझाइ छ । बेमौसमका हिउँले धेरै वन जङ्गल तथा चरण क्षेत्र र उत्पादनसमेत घटेको उहाँ बताउनुहुन्छ ।     

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले भन्नुहुन्छ, “विगतमा जस्तो हिउँ पर्न सकेको छैन । आंशिक मात्रै परेको छ । तहसनहस हुने गरी भारी हिमपात भएको छैन । हिउँदको हिमपात स्वाभाविक नभई असन्तुलित भइरहेको छ ।” विगतमा मनाङको तल्लो क्षेत्रमा समेत पाँच फिटसम्म हिउँ पर्ने गर्थ्यो । हिमपातले कृषि क्षेत्रलाई राहत पुर्‍याउँथ्यो तर पछिल्लो समयको जस्तो हिउँ देख्न पाइएको छैन ।” उहाँले हिमपातले खुसीसँगै सास्ती दिने गरेको पनि सुनाउनुभयो ।          

मासिए माटाका घर     
यहाँका सदियौँ वर्ष पुराना माटाले बनेका परम्परागत घर छन् । सडक सञ्जाल जोडिएपछि ऐतिहासिक घर क्रमशः मासिएका छन् । सडकको पहुँच, आधुनिकता र जलवायु परिवर्तनका कारण हिउँ नपरी वर्षा हुन थालेपछि माटाले बनेका घर विस्थापन हुने क्रम बढेको छ ।          

माथिल्लो मनाङ र नार्पाभूमि क्षेत्रबाहेक अन्य क्षेत्रमा माटाका घर कमै पाइन्छ । जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि यहाँ पक्की घर बन्न थालेका हुन् । माटाको घरभन्दा सुरक्षित भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ ।     

हिउँ पर्दा घरमाथि हिउँ थुप्रिएर बस्थ्यो । हिमपातसँगै वर्षा हुँदा माटाले बनेका घरले थेग्न नसकेर चुहिने, भत्किने क्रम बढेपछि मासिन थालिएको बताइन्छ । हिमपातका कारण घरमाथि हिउँको चाङ लागेपछि स्थानीयवासी हिउँ पन्छ्याउन जुट्छन् । हिउँ नपन्छ्याइए पग्लिएर घरभित्र चुहिने हुन्छ । 

याक चौँरी घर नजिक ल्याउने समय  
खर्कमा रहेका याक चौँरीसमेत हिमपातकै कारण बस्ती नजिक स्थानान्तरण गरिन्छ । पशु चौपायालाई आहारा दिन र न्यानो पार्न तिनलाई बस्ती नजिक सार्ने गरिन्छ । हिमाली क्षेत्रमा हिमपातका बखत ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा पर्यटक तथा कामदारले समेत सास्ती भोग्नुपरेको छ ।     

हिमपातले घरबाहिर निस्कन नसक्ने अवस्थामा कामदारले बाक्लो हिउँमा जमेर बसेका पशु चौपायालाई तातो आहारा दिनसमेत मुस्किल हुने गर्छ ।          

किसानमा खुसी     
हिमपातले स्थानीयवासीलाई सास्ती भए पनि यहाँका किसान भने उत्साहित हुने गर्छन् । हिउँदयामको हिमपात तिनका लागि वरदान साबित हुने भएकाले उत्साह थपिने गरेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश गुरुङले बताउनुभयो । 

हिउँले जमिनको भित्री सतहलाई सिञ्चित गर्ने भएकाले कृषकले लगाएको अन्नबाली फस्टाउने उहाँको भनाइ छ । उहाँका अनुसार हिउँले स्याउ, ओखर, उवा, फापर, आलुलगायत फलफूल र अन्नबाली सप्रिन्छ । हिउँले फलफूल तथा तरकारीमा लाग्ने विभिन्न प्रकोपसमेत नियन्त्रण गर्न सघाउने उहाँ बताउनुहुन्छ । 

प्राङ्गारिक औषधिका रुपमा समेत हिउँको योगदान उत्तिकै हुने गर्छ । पछिल्ला वर्षमा अपेक्षा गरेअनुरूप हिउँ पर्न नसक्दा स्याउलगायत फलफूल र अन्नबालीमा स्क्याप रोग लागेकाले कम स्याउ उत्पादन हुनाका साथै गुणस्तरसमेत खस्किएको छ ।     

‘आइस क्लाइम्बिङ’   
 पहिले हिउँ खेल्न र रमाउन जिल्ला बाहिरका उल्लेख्य पर्यटक मनाङ आउने गर्थे । कोभिड –१९ सङ्क्रमणका कारण पछिल्ला तीन वर्ष हिमपातले पर्यटन क्षेत्रलाई योगदान दिन सकेको छैन । 

हिउँ खेल्ने पर्यटक वृद्धि गर्नाका साथै जोखिममा पर्वतारोहणमा सहयोग पुर्‍याउने उद्देश्यले ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ । 

पहिले नेपाल पर्वतारोहण प्रशिक्षण सङ्घका आयोजनामा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको सहयोगमा ङिस्याङ–४ हुम्डेस्थित ‘हुम्डे झरना’मा लेबल –१ अन्तरगतको आइस क्लाइम्बिङ प्रशिक्षण दिइएकामा यसपालि आवश्यक प्रशिक्षार्थी सहभागी गराउन सकिएन । रासस   

प्रतिक्रिया राख्नुहोस्

Back to top button