तपाईँ सुन्दै हुनुहुन्छः

दूर सञ्चार सेवाको बिस्तार र गुणस्तर अभिवृद्धि गर्नुपर्छ : मन्त्री कार्की

फाइल तस्बिर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  दूर सञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १८ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले नेपाल टेलिकमको फाइबर टु द होम सेवाको विस्तारमा ढिलासुस्ती हुँदा उपभोक्ताहरूले सेवा लिन नपाएको भन्दै सेवाको बिस्तार र गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राष्ट्रिय गौरवको फोर जी आयोजना, मध्य पहाडी लोकमार्गमा अप्टीकल फाइबर बिच्छ्याइ सूचना महामार्ग निमार्ण गर्ने काम सकेर फाइभ जी सेवा परीक्षणको कार्यलाई यथाशीघ्र सुरु गर्नुपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले नेपाल टेलिकमलाई समय सापेक्ष बनाउन अध्ययन अनुसन्धानको कामलाई प्राथमिकता दिँदै सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउन समेत निर्देशन दिनुभयो ।

उहाँले देशको आर्थिक र सामाजिक विकासका साथै विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, देशभित्र हुने प्राकृतिक विपद्को समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै जनचेतनामूलक सूचना प्रवाहका लागि कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा.वैकुण्ठ अर्यालले टेलिकमको सेवा प्रवाहमा देखिएका कमी कमजोरीको अन्त्य गर्दै प्रतिस्पर्धामा खरो उत्रिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मध्य पहाडी लोकमार्गमा अप्टीकल फाइबर बिछ्याउने काममा ढिलासुस्ती भएको भन्दै शीघ्र काम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button