हेलम्बु– मेलम्ची बाढीपीडित सरोकार समिति र मेलम्ची खानेपानी विकास समितीबीच वार्ता

सिन्धुपाल्चोक । हेलम्बु मेलम्ची बाढीपीडित सरोकार समिति र मेलम्ची खानेपानी विकास समितीबिच विभिन्न सहमति भएको छ ।
शुक्रवार आयोजनाको साइड कार्यालय मेलम्चीमा भएको छलफलमा महत्त्वपूर्ण विषयहरूमा सहमति भएको र उठान भएका विषयलाई कार्यान्वयन गर्न द्विपक्षीय रुपमा पहलकदमी लिने सहमति गरिएको वार्तामा सहभागी बाढीपीडित सरोकार समितिका संयोजक भरत थापाले जानकारी दिनुभयो ।
वार्तामा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सरोकारवाला सहभागी हुनुहुन्थ्यो ।
हेडवक्सबाट निकालिएको ढुङ्गा, माटो र बालुवालाई आगामी दिनमा तल्लो तटीय क्षेत्र सुरक्षित हुने गरी डम्प गरिने आयोजनाको तर्फबाट प्रतिबद्धता गरिएको छ ।
मेलम्ची तिम्बु सडक खण्ड १२ महिना चल्ने गरी तत्काल प्रक्रिया अगाडि बढाइने छ । जसका निम्ति मेलम्ची आयोजनाको कार्य योजनाअनुसार सडक विभागले अल्पकालीन रुपमा २५ करोडको काम अगाडि बढाउने छ ।
दीर्घकालीन रुपमा कालोपत्रे सहितको सडक स्तरोन्नति गर्ने जसका लागि ७६ करोड बजेट कार्य योजनामा राखिएको छ ।
त्यस्तै, मेलम्ची नदीलाइ पुरानै सीमा कायम गरी गहिरो बनाउने र नदीको पानी बगाउनका निम्ति १० दिनभित्र काम सुरु गर्ने सहमति छलफलमा भएको छ ।
नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि सिँचाई मन्त्रालयमा रहेको ४० करोड बजेट कार्यान्वयनका निम्ति आयोजना र सरोकार समितिको तर्फबाट आवश्यक पहलकदमी लिने बताइएको छ ।
सरोकार समितिमार्फत आयोजना समक्ष माघ १८ गते पेस गरिएको ६ बुँदे मागसहित ज्ञापन पत्रलाई क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर भएको संयोजक थापाले जानकारी दिनुभयो ।
छलफलमा दोरिङको बस्ती जोखिममा परेको बारे गम्भीर छलफल भएको छ । सो बस्तीबारे एडीबीले अध्ययन गरेको र सो अध्ययन प्रतिवेदन आएपछि निर्णय लिइने भएको छ । साथै भ्रेमाथाङको अवस्था, नियन्त्रण एवं रोकथामबारे पनि महत्त्वपूर्ण छलफल भएको उहाँले बताउनुभयो ।
सरोकार समितिको तर्फबाट बाढी प्रभावित क्षेत्रको मागलाई तत्कालै सम्बोधन गर्ने र कार्यान्वयनमा अगाडि बढ्ने प्रतिबद्धता पछि घोषित सबै सङ्घर्षरत कार्यक्रम स्थगित गरिएको संयोजक थापालेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्