तपाईँ सुन्दै हुनुहुन्छः

म्यानपावर कम्पनीलाई वर्गीकरण गरिने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजत पत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ । 

मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य छन् ।

कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरू तयार गर्नेछ ।वर्गीकरण गर्दा वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) कुन राम्रो र कुन नराम्रो भनेर छुटाउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बताउनुभयो । 

वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गीकरण गर्न लागिएको मन्त्री श्रेष्ठले बताउनुभयो । 

नेपालमा अहिले करिब ८ सय ६० वटा म्यानपावर कम्पनी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button