प्रदेश सरकारबाट अछामका ७ सडक त्रिवर्षीय योजनामा समावेश

अछाम । सुदूरपश्चिम प्रदेश सरकारले अछामका ७ वटा सडकलाई रणनीतिक सडकका रुपमा निर्माण गर्ने भएको छ ।
चालु आर्थिक वर्ष ०७८/०७९ बाट सुरुवात गरेर आर्थिक वर्ष २०८०/०८१ मा कालोपत्रे गर्ने गरी सडक निर्माण योजना प्रारम्भ गरिएको प्रदेश सरकारले जनाएको छ । ७ वटा सडक मध्ये केही नयाँ र केही पुराना रहेका छन् ।
चिसापानी–जंगलघाट–ऋषिदह–वडिमालिका सडक, (गैरिटाँड कालागाउँ दर्ना) सडक, साँफेबगर–नन्देगडा–मेल्लेख–षोडशा–ऋषिदह सडक, मंगलसैन–जुपु लुगाडा–रामारोशन सडक, चौखुट्टे–चौरपाटी सडक, विनायक–लयाँटी–पुल्लेतोला–रामारोशन सडक, साँफे–बुढाकोट सडक र बल्देखोला सडकपुल–रामारोशनमा सडक निर्माण गरिने प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
तीन वर्ष भित्र सम्पन्न हुने गरी निर्माण गरिने उक्त सडकको लागि १ अर्व ७ करोड २९ लाख प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षको पहिलो चरणमा २ करोड ७२ लाख बजेट विनियोजित गरिएको छ । यस्तै चालु आर्थिक वर्षमा उक्त ७ वटा सडकको लागि थप रकमको व्यवस्था गरिने सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री मिना साउदले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा ७ करोड ७० लाख बजेट थप हुनेछ । आगामी आर्थिक वर्ष २०७९/०८० मा ५२ करोड ३७ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ४३ करोड ५९ लाख ९३ हजार गरी सात वटा सडकको लागि १ अर्व ७ करोड २९ लाख प्रस्ताव गरिएको राज्यमन्त्री साउदको भनाई छ ।
चिसापानी जंगलघाट ऋषिदह वडिमालिका सडक (गैरिटाँड कालागाउँ दर्ना) सडकको लागि २० करोड, साँफेबगर नन्देगडा मेल्लेख शोडषा ऋषिदह सडकको लागि १५ करोड, मंगलसैन जुपु लुगाडा रामारोशन सडकको लागि १५ करोड विनियोजन गरिएको छ ।
यसैगरी चौखुट्टे चौरपाटी सडकमा १५ करोड, विनायक लयाँटी पुल्लेतोला रामारोशन सडकको लागि २० करोड, साँफे बुढाकोट सडकको लागि १७ करोड र बल्देखोला सडकपुल रामारोशनमा सडकको लागि ५ करोड २९ लाख प्रस्ताव गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले भनाई रहेको छ ।
प्रदेश सरकारमा मन्त्री फेरबदल भए पछि चालू आर्थिक वर्षको बजेटमा समावेश अछाम जिल्लाका ५१ योजना गत पौष महिनामा मन्त्रालयले खारेज समेत गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्