तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा ६ महिनामा वन्यजन्तुबाट क्षतिका ४ सय ८४ वटा घटना 

चितवन । चितवनमा चालु आर्थिक बर्ष २०७८/०७९ को ६ महिनामा वन्यजन्तुबाट ४ सय ८४ वटा क्षतिका घटना भएका छन् । 

चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आवको पुस मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । जस अनुसार सो अवधिमा बाघको आक्रमणबाट ४ जनाको मृत्यु, हात्तीको आक्रमणबाट तीन जना, गैँडाको आक्रमणबाट एक जना र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । 

कार्यालयका अनुसार सो अवधिमा १८ जना सख्त घाइते भएका छन् । घाइते हुनेमा सबैभन्दा बढी  गैँडाबाट ११ जना र कम बाघ र भालुको आक्रमणबाट एक/एक जना भएका छन् भने हात्तीबाट तीन जन सख्त घाइते भएका थिए । यस्तै सो अवधिमा वन्यजन्तुको आक्रमणबाट १८ जना सामान्य घाइते भएका थिए । 

कार्यालयका सूचना अधिकारी सहायक प्रमुख संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले बाघ मांसाहारी जनावर भएको र यसले आक्रमण गरिसकेपछि जिउँदो नछोड्ने भएकोले बाघको आक्रमणबाट मर्नेको सङ्ख्या अन्य वन्यजन्तुको बढी हुने बताउनुभयो  । 

“‘बाघ आफैँमा मांसाहारी प्राणी हो, आक्रमण गरेपछि यसले छोड्दै छोड्दैन” ,उहाँले भन्नुभयो, “हात्ती गैँडा वन्यजन्तुले आक्रमण गरेपछि मानिस सख्त घाइते हुने र भाग्दा, दौडँदा पनि गम्भीर चोट लाग्ने गर्दछ ।” 

वन्यजन्तुको स्वभाव, प्रकृति, शारीरिक बनावटको आधारमा पनि मृतक र घाइतेको सङ्ख्या सोही अनुपातमा हुने तिवारीको भनाई छ । 

९२ वटा पशुधन क्षतिका घटना ६ महिनामा वन्यजन्तुको आक्रमणबाट घरपालुवा पशुधन क्षतिका ९२ वटा घटना भएका छन् । 

सो अवधिमा सबैभन्दा बढी क्षति चितुवाबाट ७५ वटा क्षति भएको छ । यस्तै बाघबाट १६ वटा घटना र अजिङ्गरबाट एउटा घटना मात्र भएको छ । 

सूचना अधिकारी तिवारीले वन्यजन्तु मध्यवर्ती क्षेत्रभन्दा बाहिरका बस्तीमा गएर पशु चौपायालाई आक्रमण गर्ने, घाइते बनाउने गरेको र यसमा सबैभन्दा बढी चितुवाले आक्रमण गरेको बताउनुभयो  । 

“चितुवा मांसाहारी र चलाख वन्यजन्तु हो”, तिवारीले भन्नुभयो, “यसले बस्तीमा गएर बाख्रा, बङ्गुर र अन्य साना घरपालुवालाई आक्रमण गर्ने र मार्ने गर्दछ ।” 

यस्तै बाघ पनि आहाराको खोजीमा गाउँ बस्तीमा पस्ने र घरपालुवा जनावरलाई आक्रमण गर्ने र मार्ने गर्दछ । 

यस्तै सो अवधिमा वन्यजन्तुले मानव बस्तीमा पसेर ४ वटा भण्डारण गरेको अन्नको क्षति गरेका छन् । १६ वटा घर गोठको क्षति र ३ सय २६ वटा अन्नबालीमा क्षति पुर्‍याएको घटना छ । अन्नबालीमा क्षति पुर्‍याएको मध्ये सबैभन्दा बढी गैँडाले १६८ वटा  क्षति गरेको छ ।

यस्तै ४२ स्थानमा जङ्गली हात्ती र ११६ वटा क्षति जङ्गली बँदेलले गरेको कार्यालयले जनाएको छ । विशेष गरी शाकाहारी वन्यजन्तुले आहारा र खानाको खोजीमा मानव बस्तीमा गएर अन्नबाली खाइदिने र नष्ट गरिदिने गरेका छन् । 

सूचना अधिकारी तिवारीले राहत वितरण  सिफारिस समितिले क्षतिको विवरण पेस गरिएको आधारमा क्षतिपूर्ति दिने गरिएको बताउनुभयो  । “क्षतिको प्रकृति र मुचुल्का, सिफारिसको आधारमा राहत दिइने गरिन्छ” उहाँले भन्नुभयो, “मानवीय क्षतिको राहत रकम पनि बढी नै हुन्छ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button