राष्ट्र बैङ्क र आईएफसीबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिब सोलुसन) को परीक्षणका लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिबले प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवर्द्धन गर्ने अपेक्षा लिइएको छ ।
व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि मङ्गलवार गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी र आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
जापान सरकार र बेलायत सरकारसँगको साझेदारीमा नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिको लागि परीक्षण गर्न लागिएको हो । समझदारी बमोजिम यस विधिमार्फत लघु तथा खुद्रा कर्जा लिने व्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएफसी र राष्ट्र बैङ्कबिच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गर्दै नयाँ समझदारीको कार्यान्वयनबाट लघु कर्जा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यसै गरी, आईएफसीका आवासीय प्रतिनिधि फायेले नेपालका ग्रामीण क्षेत्रहरूमा समझदारीले वित्तीय पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्