तपाईँ सुन्दै हुनुहुन्छः

तीन सय शय्याको शिक्षकको आफ्नै अस्पताल बन्ने

File Photo

काठमाडौँ । सरकारले तीन सय शय्याको केन्द्रीय शिक्षक अस्पताल चितवनमा बनाउन सैद्धान्तिक सहमति दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । 

मन्त्री पौडेलले मन्त्रिपरिषदमा शिक्षक अस्पताल निर्माणको प्रस्ताव पेश गर्नुभएको थियो । अस्पताल निर्माणका लागि २१ बिगाहा जग्गा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको छ । 

शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । विमल शर्मा चालिसे संयोजकत्वको सम्भाव्यता समितिले यी सबैभन्दा उपयुक्त हुने ठाउँ चितवनको भरतपुर महानगरपालिका–१५ भगवानपुरमा रहेको सुझाव दिएको थियो । 

समितिका सदस्य एवम् जनस्वास्थ्य विज्ञ लिलानाथ भण्डारीले देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साइट डेभलपमेन्ट कार्यमा किफायती हुने देखिएको बताउनुभयो ।

‘हाल शिक्षकहरूलाई सिभिल अस्पतालबाट सेवा लिने र सबै शिक्षकहरूको स्वास्थ्य बिमा सरकारले गरिदिने गरी हामीले प्रतिवेदन मन्त्रालयलाई सुझाव दिएका छौँ’ भण्डारीले भन्नुभयो । 

‘अध्ययन समितिले दिएको प्रतिवेदनमाथि छलफल गरेर भरतपुर महानगरपालिका–१५ भगवानपुरमा उपयुक्त हुने गरी मन्त्रिपरिषद्मा सिफारिस लगेका थियौँ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘समग्र सबैलाई उपयुक्त स्थान भरतपुरमा हुने भएकाले त्यहाँ बनाउनका लागि निर्णय भएको छ ।’

मन्त्री पौडेलका अनुसार सैद्धान्तिक सहमति भएपछि डिपिआरका लागि प्रक्रिया मन्त्रालयले अघि बढाउनेछ । 

‘पहिले तीन सय शय्याको अस्पताल बन्छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘पछि प्रतिष्ठान हुने गरी १५ सय बेडको अस्पताल बनाउने गरी लक्ष्य लिएका छौँ ।’ अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दा शिक्षकका लागि छुटै अस्पताल बनाउने घोषणा गर्नुभएको थियो । साथै, हिजोकै बैठकले केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button