मिटर अभावले बिजुली बाल्न पाइएन

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ३ बर्दादेवी जोगेना, दोमार्साका नागरिकको वर्षौँ देखिको बिजुली बत्ती बाल्ने सपना अधुरै रहेको छ । गाउँमा बिजुली बिस्तार भएपछि बत्ती बाल्ने आशामा रहेका स्थानीयको सपना मिटर अभावका कारण अधुरै रहेको हो ।
गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्बर ३ बर्दादेवीको जोगेना, दोमार्सामा विद्युत् उद्घाटन गरिएको महिनौँ बितिसक्दा समेत स्थानीयले बिद्युत् जडानका लागि मिटर पाउन नसकेको बताएका छन् ।
घर आसपासमा बिजुलीका पोल र तारसँगै बिद्युत् बिस्तार गरिएको भए पनि मिटर अभावका कारण बत्ती जडान गर्न नपाउँदा स्थानीय अन्धकारमा बस्न बाध्य भइरहेका छन् ।
गएको पुस ८ गते दोमार्सा र जोगेनामा एक औपचारिक कार्यक्रमका वीच बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बिद्युतको उद्घाटन गर्नुभएको थियो ।
बिद्युतका पोल र तार जडान सुरु भएसँगै बिजुली बत्ती बाल्न पाउने आशामा घर बाइरिँग लगायत आवश्यक उपकरण जडान गरेका स्थानीयको सपना मिटर अभावका कारण पुरा हुन नसक्दा उनीहरू अँध्यारोमा दिन कटाउन बाध्य भइरहेको स्थानीय लाल बहादुर ठकुल्लाले बताउनु भयो ।
बिद्युतको उद्घाटनका लागि हौसिएका गाउँपालिकाका जनप्रतिनिधिले समेत स्थानीयलाई मिटर उपलब्ध गराउन कुनै चाँसो नलिएको उहाँको भनाई छ । नेपाल बिद्युत् प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख जयानन्द बोकटीले केन्द्रमा नै मिटरको अभाव रहेको बताउनुभयो । अछाम जिल्लामा मात्र नभई बिद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत महिनौँ देखि मिटरको अभाव छ उहाँले भन्नुभयो ।
जिल्लामा मिटर अभावका कारण स्थानीय अँध्यारोमा बस्न बाध्य भइरहेको माथिल्लो निकायमा पटक पटक जानकारी गराएको तर कहिलेसम्म मिटर आइपुग्छ भन्ने यकिन नभएको बोकटीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्