तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा बालबालिकालाई मोर्डना खोपको दोस्रो मात्रा लगाउन सुरु

तनहुँ । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका दश वटै स्थानीय तहका ३२ हजार चार सय ३७ बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको छ ।

भानु नगरपालिकाका ३ हजार २ सय २०, व्यास नगरपालिकाका ९ हजार ५ सय २, शुक्लागण्डकी नगरपालिकाका ५ हजार ७ सय ८८, भिमादका दुई हजार आठ सय ७९, म्याग्दे गाउँपालिकाका १ हजार ४ सय ७१, घिरिङ गाउँपालिकाका १ हजार ३ सय १८, ऋषिङ गाउँपालिकाका २ हजार ८७, देवघाट गाउँपालिकाका १ हजार ५ सय ४४, बन्दिपुर गाउँपालिकाका २ हजार ५३ र आँबुखैरेनी गाउँपालिकाका २ हजार ५ सय ७५ ले पहिलो मात्रा लगाएका छन् ।

व्यास नगरपालिकाले माघ १७ गते सोमबारदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । यस क्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार जिल्लामा विद्यालयका पठनपाठन माघ मसान्तसम्म नै बन्द हुनेछ । विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन विद्यालय खोल्ने निर्णय नभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’विद्यालयमा पठनपाठन गराउन पाइँदैन तर खोप लगाउन खोल्दा हाम्रो आपत्ति छैन । ’

कतिपय निजी विद्यालयले अहिले पनि पठनपाठन गराइराखेकाले यसमा निगरानी गर्ने, आमसभा, जुलुस, भेला तथा धेरै मानिस भिडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुन्जेल सञ्चालन गर्न रोक लगाउने लगायतका काम भइरहेको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button