तपाईँ सुन्दै हुनुहुन्छः

पानी शुद्धीकरण उपकरणबाट झन्डै एक हजार विद्यार्थी लाभान्वित

स्याङ्जा । वालिङकै पुरानो विद्यालय पुर्णामृत माध्यमिक विद्यालयमा पानी शुद्धीकरण उपकरणले विद्यार्थीलाई सहजता मिलेको छ । 

दुर्गाखिमा फाउन्डेसन वालिङद्वारा पुर्णामृत माध्यमिक विद्यालयलाई उपलब्ध गराइएको पानी शुद्धीकरण उपकरणले विद्यालयमा अध्ययनरत झन्डै एक हजार विद्यार्थीहरूलाई सहजता मिलेको विद्यालयले जनाएको छ । 
आधुनिक प्रविधिबाट पानी शुद्धीकरण गर्ने उपकरण उपलब्ध भएपछि विद्यार्थीले शुद्ध पानी पिउन पाएको विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताउनुभयो । 

उहाँले जाडोको समयमा शुद्ध र तातोपानी आउने उपकरणको उपयोगले विद्यार्थीले घरबाट तातोपानी ल्याउनुपर्ने झन्झट हटेको बताउनुभयो । 

दुर्गा खिमा फाउन्डेसनले गरेको सामाजिक कामको प्रशंसा गर्दै प्रधानाध्यापक लम्सालले यस्ता सामाजिक कार्यमा सबैले हातेमालो गर्नुपर्ने उल्लेख गर्नुभयो । 

वालिङ १० मा रहेको यस क्षेत्रकै पुरानो विद्यालयमा सामाजिक परोपकारी काम गर्ने सिलसिलामा फाउन्डेसनले न्यून आर्थिक स्तर विद्यार्थीहरू अध्ययनरत सामुदायिक विद्यालय अन्तर्गत पूर्णामृत भवानी माविमा ३ लाख पर्ने पानी शुद्धीकरण गर्ने उपकरण सहयोग गरेको फाउन्डेसनका सचिव मणीप्रसाद अर्यालले बताउनुभयो । 

वि.सं.२०७६ सालमा दुर्गाखिमा फाउन्डेसनको स्थापना भएको थियो । स्थापनाको छोटो समयमै धेरै सामाजिक कार्य गरेको यस फाउन्डेसनले विपन्न तथा असहायहरूको सेवा गर्दै आइरहेको छ । 

वालिङ बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरी यस फाउन्डेसनले गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

त्यसैगरी, कोरोना नियन्त्रणको लागि वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा फाउन्डेसनले रु ५० हजार नगद सहयोग गरेको थियो । दुखी तथा विपन्न वर्गका नागरिकहरूको सेवाको लागि यस फाउन्डेसनको स्थापना गरिएको फाउन्डेसनका संरक्षक बेनी माधव कँडेल ‘गोपाल’ हुनुहुन्छ । 

हाल संयुक्त राज्य अमेरिकामा रहनुभएका कँडेलले आफ्ना दिवङ्गत बुवा दुर्गा कँडेल र आमा खीमा कँडेलको स्मृतिमा यस फाउन्डेसनको स्थापना गर्नुभएको हो । 

समाजसेवाको माध्यमबाट सकारात्मक सोचको विकास गर्दै विपन्न वर्गलाई सहयोग र उत्थान गर्ने यस फाउन्डेसनको मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button