तपाईँ सुन्दै हुनुहुन्छः

आँधीमुलमा पर्यटक आउन थालेपछि स्थानीय हर्षित

तनहुँ । तनहुँको आवुखेरैनी गाउँपालिकामा रहेको आँधीमुल मन्दिर क्षेत्र पछिल्लो समयमा पिकनिक स्पटको रुपमा विकास हुन थालेको छ । 

धार्मिक क्षेत्रसँगै एकान्त र रमणीय स्थान रहेकाले यहाँ देशका विभिन्न स्थानबाट पिकनिकका लागि आन्तरिक पर्यटकहरू आउने गरेका छन् ।

शनिबार र अन्य बिदाका दिनमा आँधिमुल मन्दिर क्षेत्रमा पिकनिकका लागि पुग्नेहरूको भिड हुन्छ । आँबुखैरेनीको सत्रसय फाँट हुँदै २० मिनेट सवारी यात्रामा पुग्न सकिने आँधीमुल मन्दिर परिसरमा रहेको पोखरीको माछालाई देवता रुपमा मानिने भएकाले पनि विशेष रहेको वडाध्यक्ष केशर थापाले बताउनुभयो । 

आँधिमुल मन्दिरसँगै रहेको पोखरीका लाखौँ माछालाई विशेष संरक्षण गरेर राखिएको छ । पोखरीको माछा मर्दा स्थानीयले काज किरिया गर्ने अनौठो परम्परा रहेको वडाध्यक्ष थापा बताउनुहुन्छ ।

केही बर्ष अगाडीसम्म ओझेलमा रहेको यो क्षेत्रलाई जनप्रतिनिधिको आगमनसँगै विकास र प्रचारप्रसार गरिएको वडाध्यक्ष थापाको दाबी छ । उहाँले पत्रकारहरूको विशेष कार्यक्रम ल्याउन समन्वयात्मक भूमिका खेल्ने र अन्य माध्यमबाट प्रचार गरेपछि आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै गएको जानकारी दिनुभयो ।  

पर्यटकको आगमन बढ्न थालेपछि गाउँपालिकाले मन्दिरसम्म जाने सडकसँगै मन्दिर क्षेत्रको विकासमा जोड दिएको छ । देशका विभिन्न स्थानबाट पर्यटकहरू आउन थालेपछि यहाँका स्थानीय पनि हर्षित छन् । 

पूर्वाधार विकासमा पछि परेको यो ठाउँमा मन्दिरकै कारण विकासका योजनाहरू सञ्चालन हुन थालेको स्थानीय सविता मास्कीले बताउनुभयो । पर्यटकको चहलपहल हुन थालेपछि मन्दिर क्षेत्रमा फुल प्रसाद र किराना सामानको बिक्रीले जीविकोपार्जनमा सघाउ पुर्‍याएको उहाँले बताउनुभयो । मन्दिरमा घुम्न र पूजा आराधना गर्नका आउने पर्यटकले सडकको अवस्थालाई लिएर गुनासो गर्ने गरेको भन्दै जनप्रतिनिधिहरूले चासो दिनुपर्ने उहाँको सुझाव छ ।

धार्मिक पर्यटनमार्फत गाउँपालिकाको विकासमा जोड दिएको आँबुखैरेनीले आँधिमुलसँगै अन्य धार्मिक पर्यटकीय स्थललाई विकास गरेर अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । 

थापाले आधिँमुल, छिम्केश्वरी माई, शिवालय र अकला देवी मन्दिर क्षेत्रका विकास गर्न बजेट केन्द्रित गरेको बताउनुभयो । 

उहाँले धार्मिक स्थलसम्म पुग्ने सडकको अवस्था सुधार्न बर्षेनी करोडौँको बजेट विनियोजन हुँदै आएको जनाउनुभयो ।

पर्यटकलाई आकर्षित गर्न मन्दिर क्षेत्र व्यवस्थित बनाउनुका साथै माछा पोखरीमा जलदेवीको मूर्ति निर्माणको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । उहाँले आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना बनाइरहेको बताउनुभयो । 

पानीको प्राकृतिक मूललाई जोगाएर बनेका पोखरी र माछाहरूले यहाँ पुग्ने पर्यटकहरूको ध्यान तान्ने गरेको पाइन्छ । मनोकाङ्क्षा पुरा हुने विश्वाससहित आउने पर्यटकहरू तनहुँका विभिन्न स्थानसँगै कास्की, चितवन, स्याङ्जा, लमजुङ लगायतका देशका विभिन्न स्थानबाट पुग्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button