तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा २ लाख १७ हजारले लगाए पूर्ण खोप

मकवानपुर । मकवानपुरमा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २ लाख १७ हजार २ सय १२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

जिल्लामा कुल जनसङ्ख्याको ६२ प्रतिशत बढीले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । 

घिमिरेका अनुसार जिल्लामा १२ वर्षमाथिका कुल ३ लाख ५० हजार चार सय जनाले खोप लगाउनुपर्ने तथ्याङ्क रहेको छ । जुन २०७८ सालको जनसङ्ख्याको ७६ प्रतिशत हो । 

यसैगरी खोपको पहिलो मात्र लगाउनेको सङ्ख्या २ लाख ९० हजार ४१२ जना अर्थात् ८३ प्रतिशत र बुस्टर डोज लगाउनेको सङ्ख्या ४ हजार ५३६ पुगेको उहाँले बताउनुभयो । जिल्लामा पछिल्लो समय सञ्चालित खोप अभियान प्रभावकारी रुपमा अगाडी बढेको उहाँले बताउनुभयो । 

पछिल्लो समय कोरोना संक्रमण फेरी फैलन थालेसँगै कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरू पनि बढ्दै गएको उहाँले बताउनुभयो । पछिल्लो समय सरकारले खोप कार्ड अनिवार्य गरेका कारण पनि खोप लगाउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो । 

यस्तै, मकवानपुरमा आज थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।  

पछिल्लो २४ घण्टामा १०१ जनामा पिसिआर र १०६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४१ जना र ४० जना गरी थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । 

यस्तै जिल्लामा आज थप २४६ जना सङ्क्रमणमुक्त भएका छन् । होम आइसोलेसन उपचाररत २४० जना र संस्थागत आइसोलेसनमा उपचाररत ६ जना सङ्क्रमणमुक्त भएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button