तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर विमानस्थलबाट साँढे ६ हजार उडान, दुईलाख यात्रुले लिए सेवा

चितवन । भरतपुर विमानस्थलबाट एकबर्षमा दुई लाख बढी यात्रुले सेवा लिएका छन् । यो विमानस्थल भएर २०२१ जनवरी देखि डिसेम्बर सम्म उडान र अवतरण गरी २ लाख २ हजार ९७३ जना यात्रुले सेवा लिएका हुन् । सो अवधिमा भरतपुर विमानस्थलमा ६ हजार ५९६ पटक उडान र अवतरण भएको थियो ।

कार्यालयका अनुसार २०२१ को जनवरीमा ४१० वटा उडान र अवतरण भएकोमा सो महिना १३ हजार १९३ यात्रुले सेवा लिएका थिए । यस्तै फेब्रुअरीमा ५४८ वटा उडान र अवतरणमा १७हजार ३२३ जना यात्रु, मार्चमा ५९४ वटा उडान र अवतरणमा १८हजार ७४३ यात्रु, अप्रिलमा ५६० वटा उडान र अवतरण भएकोमा १६ हजार ८८० जना यात्रुले सेवा लिएका थिए ।

कोरोनाका कारण मे महिनाको केही दिन र जुन महिनामा नियमित उडान र अवतरण नभएको र सो अवधिमा चार्टर उडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ । मे महिनामा ६० वटा उडान अवतरण भएकोमा १ हजार २११ जना यात्रुले सेवा लिएका थिए । भने जुन महिनामा ६ वटा चार्टर फ्लाइटबाट १३ जना यात्रुले सेवा लिएका थिए ।

यसै गरी जुलाईमा ५४६ पटक उडान र अवतरण भएको थियो सो महिनामा १७ हजार १०९ यात्रुले सेवा लिएका थिए । अगष्ट महिनामा ५६८ वटा उडान र अवतरण मा १८ हजार २५६ जना यात्रु, सेप्टेम्बरमा ७१४ वटा उडान अवतरण गरिएकोमा २४ हजार २८० जना यात्रु, अक्टोबरमा ८३४ पटक उडान अवतरण भएकोमा २४हजार ५५१ जना यात्रु , नोभेम्बरमा ८३४ वटा उडान अवतरणमा २५ हजार ५५१ जना यात्रु र डिसेम्बरमा ८५० वटा उडान अवतरण भएकोमा २५ हजार ३३३ जना यात्रुले सेवा लिएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी दिपक विकले पछिल्लो समय भरतपुर विमानस्थल भएर सेवा लिने यात्रुको चाप बढ्दै गएको बताउनु भयो । उडान सङ्ख्या थपिएसँगै यात्रुको सङ्ख्या पनि बढ्दै गएको हो ।

‘उडान सङ्ख्या पनि थपिएको छ, विकले भन्नुभयो , यो सँगै हवाई सेवामा यात्रुको आकर्षण पनि छ ।’ उहाँका अनुसार विशेष गरी विभिन्न राजनीतिक सभा सम्मेलन , चाडपर्व तथा नारायणगढ –मुग्लिन सडक खण्डको बाटो अवरुद्ध भएको बेला हवाई यात्रुको चाप बढ्ने गर्दछ । हवाई यात्रा छिटो छरितो , आरामदायी हुनुका साथै स्वास्थ्य सुरक्षा महसुस हुने भएकोले पनि यात्रुको चाप बढ्ने गरेको उहाँको भनाई छ । भरतपुर विमानस्थल भएर हाल दैनिक काठमाडौँ ,पोखरा, भैरहवा उडान हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button