स्वास्थ्य बिमाबापतको रकम नआउँदा बिरामीले निःशुल्क औषधि पाउन छाडे

कञ्चनपुर।स्वास्थ्य बिमा गरेका बिरामीले सरकारी अस्पतालमा निःशुल्क औषधि पाउन छोडेका छन् । स्वास्थ्य बिमाबाट प्राप्त हुने अधिकांश औषधि प्रायः अभाव हुने गरेको छ । सरकारी अस्पतालका फार्मेसीहरूमा सरकारले दिने निःशुल्क औषधि नपाइँदा सेवाग्राही निजी बाट औषधी किन्न बाध्य छन् ।
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको फार्मेसीमा अहिले दम, खोकी लगायतका औषधि अभाव छ । स्वास्थ्य बिमाबाट प्राप्त हुने अधिकांश औषधि प्रायः अभाव हुने गरेको सेवाग्राहीको भनाई छ ।
अस्पतालले स्वास्थ्य बिमाबापतको रकम समयमै भुक्तानी गर्न नसक्दा फार्मेसीमा समयमै औषधि उपलब्ध नहुने गरेको हो । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अस्पतालमा स्वास्थ्य बिमाबापतको रकम समयमै नआउँदा भुक्तानीमा समस्या भएको हो । उहाँले अहिले पनि ३०/४० लाख रकम भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो ।
महाकाली अस्पतालले वर्षमा २ करोडभन्दा बढीको औषधि खरिद गर्छ । जसमध्ये ६० प्रतिशत स्वास्थ्य बिमामै जाने गरेको छ ।
निःशुल्क स्वास्थ्य बिमा गरेबापत बिरामीका लागि एक हजार २५६ थरीको औषधि फार्मेसीमा राख्नुपर्ने हुन्छ । तर त्यसो हुन सकेको छैन । निःशुल्क वितरणका लागि सरकारले उपलब्ध गराउने ७२ थरीको औषधि पनि फार्मेसीमा छैन ।








प्रतिक्रिया राख्नुहोस्