शैक्षिक सुधारका विषयमा शिक्षामन्त्रीलाई निजी क्षेत्रको सुझाव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरूका पदाधिकारीसँग सुझाव लिनुभएको छ । बुधवार र बिहीबार मन्त्रालयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग शैक्षिक सुधारका विषयमा सुझाव लिनुभएको हो ।
सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन माग गरेका छन् । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
प्याब्सनका अध्यक्ष टिकाराम पुरीले निजी स्कुलले गरेका राम्रा कामहरूको मूल्याङ्कन सरकारले गर्नुपर्ने बताउनुभएको छ । उहाँले विद्यार्थीलाई खोप दिने सरकारले भनेपनि शिक्षक, कर्मचारीलाई बुस्टर डोज दिनेबारे गम्भीर नभएको बताउनुभएको हो । देशका सबै विद्यालय बन्द गर्नुका साटो कोभिड प्रभावित क्षेत्र तोकेर अन्य विद्यालयलाई सञ्चालनको वातावरण गराउन प्याब्सनले माग गरेको छ ।

यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियएन नेपालले सहुलियतपूर्ण कर्जामा छुटको व्यवस्था माग गरेको छ । ‘स्कुल चलाउन हामीले बैङ्कबाट लोन लिएका छौ’, एसोसिएसन अध्यक्ष ऋतुराज सापकोटाले भन्नुभयो, ‘गत वर्ष कर्जामा ५ प्रतिशत छुट भएको थियो, यस वर्षपनि छुटका लागि पहल गरिदिनुपर्याे ।’ सङ्क्रामक रोग ऐन २०२० ले गृह र जिल्ला प्रशासनलाई मात्रै चिनेको बताउँदै ऐन संशोधन गरी समयानुकूल गराउन माग गरेको छ ।
छलफलमा मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य प्रणालीलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताउनुभयो । मन्त्री पौडेलले सीसीएमसीको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने बताउनुभयो । पछिल्लो समय मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका विषयमा विश्वविद्यालय, निजी शैक्षिक संस्था र शिक्षाविद्हरूसँग सुझाव लिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्