तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्दै तातोपानी गाउँपालिका

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ ।

चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम अनुसार जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा शुरु भएको हो ।

चालू आर्थिक साउनदेखि यता अति विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा हुँदै आएको छ । जसका लागि जनतासँग अध्यक्ष कार्यक्रमबाट १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो,“गाउँपालिकाका ८ वटै वडाका विपन्न नागरिकको राहतका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेका छौँ । पाँच जनाको परिवारले एक लाख सम्मको सेवा पाउन ३५ सय तिर्नुपर्छ । कार्यक्रमबाट पालिकाले प्रति परिवार २ हजार बेहोर्ने छ भने, बाँकी १५ सय स्वयम् नागरिकले तिर्नुपर्ने छ ।”

बिमाप्रति अपनत्व बढाउन १५ सय सम्बन्धित स्थानीयले बेहोर्नुपर्ने नीति बनाइएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा बोर्ड जुम्लाको तथ्याङ्क अनुसार हालसम्म जुम्लामा ५५ हजार ३ सय ५२ जना नागरिक बिमाको पहुँचमा पुगेका छन् । स्वास्थ्य बिमा कार्यालयका अनुसार ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रममा ४ हजार ३५ जनाको बिमा गरिएको छ ।

निःशुल्क बिमा कार्यक्रमअन्तर्गत महिला स्वयंसेविका १ सय ८०, पूर्ण अपाङ्गता भएका ४५, क्षयरोग टिभी २ र एचआइभी संक्रमित १ जनाले बिमा गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button