तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशमा तयारी पुरा

मकवानपुर । राष्ट्रियसभा सदस्यअन्तर्गत बागमती प्रदेशतर्फ खाली रहेको दुई सिटमा भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

हेटौँडा–८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा बिहान ९ बजेबाट सुरु हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन अधिकारी तथा सहायक निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार दुई वटा मतदान केन्द्र निर्माण गरिएको साथै मतदान केन्द्रमा दुई मतदान अधिकृतसहित ८–८ जना गरी १६ जना कर्मचारी खटाइने छ । मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक/फरक रहेको उहाँले बताउनुभयो ।

कोभिड–१९ महामारीको कारणले गर्दा स्वास्थ्य सुरक्षामा केही चुनौती देखिए पनि यसको व्यवस्थापन र सुरक्षित साथ गरिने बताइएको छ ।

मतदान गर्न आउने मतदाताहरूले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने, कोरोना संक्रमित भए वा लक्षण देखिएका मतदातालाई छुट्टै व्यवस्थापन गरिने र यसका लागि जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हेल्पडेस्कसहित २ जना स्वास्थ्यकर्मी खटाइने बताइएको छ ।

बागमती प्रदेशमा दुई सिटका लागि ६ जना उम्मेदवार मैदानमा हुनुहुन्छ । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी ६ जनाले उम्मेदवारी दिनुभएको छ ।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा काङ्ग्रेसबाट कृष्णप्रसाद पौडेल हुनुहुन्छ भने विपक्षी नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर र अन्यमा गोपाल शाक्य तथा नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा बागमतीमा ३ सय ४६ मतदाता हुनुहुन्छ । प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३७ जना र १०९ जना प्रदेशसभा सदस्य गरी ३ सय ६४ जनाले मतदान गर्नुहुने छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ ।

जसअनुसार बागमतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button