तपाईँ सुन्दै हुनुहुन्छः

एमाले मकवानपुरका पदाधिकारी तथा सदस्यहरूद्वारा शपथ ग्रहण

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मकवानपुरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गर्नुभएको छ । पार्टी कार्यालयमा मङ्गलवार आज एक कार्यक्रमका बीच अध्यक्ष एकलाल श्रेष्ठसहित पदाधिकारी तथा केही सदस्यहरूले शपथ ग्रहण गर्नुभएको हो । 

कार्यक्रममा ११औँ जिल्ला अधिवेशनको निर्वाचन समितिका प्रमुख अर्जुन अर्यालले जिल्ला अध्यक्ष श्रेष्ठलाई शपथग्रहण गराउनु भएको थियो । भने, अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारीहरू जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नवीन सिग्देल, उप–सचिवहरू हिदम लामा तथा सिता विष्ट र सदस्यहरु जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वादोर्जे लामा, सुमित्रा काफ्लेलाई शपथग्रहण गराउनु भएको थियो । 

गत पुस २३–२४ गते सम्पन्न ११औँ जिल्ला अधिवेशनले अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो । कोरोना प्रभावका कारण आज अध्यक्षलगायत पदाधिकारी र पदाधिकारीमा उम्मेदवारी दिएर सहमतिका लागि नाम फिर्ता लिनुभएका सदस्यहरूलाई मात्र शपथ ग्रहण गराइएको हो । बाँकी सदस्यहरूको शपथ ग्रहण केही समय पछि हुने एमाले मकवानपुरले जनाएको छ । 

कार्यक्रममा बोल्दै नेकपा एमाले बागमती प्रदेश सदस्य बलराम बलले सर्वसम्मत रुपमा चयन भएको जिल्ला कमिटीले आगामी निर्वाचनहरूमा एमालेलाई पहिलो पार्टी बनाउन सशक्त रुपमा लाग्नु पर्ने बताउनुभयो । एमाले केन्द्रीय सदस्य तथा मकवानपुर सह–इन्चार्ज कृष्ण दाहालले एमाले विरोधीहरूले छरेको भ्रम चिर्दै एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामका विषयमा जनतालाई जानकारी दिन आवश्यक रहेको र नवनिर्वाचित पार्टी कमिटीले त्यसतर्फ ध्यान दिने बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् एमाले नेता डोरमणि पौडेलले गठबन्धन सरकार चुनावबाट भाग्न खोजेको भन्दै त्यसका विरुद्धमा जनतालाई सुसूचित गराउन नवनिर्वाचित कमिटीलाई योजनाबद्ध रुपमा लाग्न सुझाव दिनुभयो । उहाँले अब छिटै नै निर्वाचनमा देश जाने भन्दै एमालेलाई मकवानपुर जिल्लामा पहिलेकै अवस्थामा कायम राख्ने गरी कार्य थाल्न सुझाव दिनुभयो । 

कार्यक्रममा अधिवेशनको अध्यक्ष मण्डलको तर्फबाट एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, एमाले बागमती प्रदेश सदस्य एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायत उपस्थित हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button