कोरोनाको जोखिम बढेपछि तनहुँ प्रशासनमा बार अनुसार सेवा

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले बुधवारदेखि सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गर्न लागेको छ । कोभिडको संक्रमण दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कार्यालयमा खोप कार्डको व्यवस्था अनिवार्य गर्दा पनि भिडभाड नघटेपछि आलोपालो प्रणाली लागु गरेको हो ।
सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । कार्यालयबाट प्रदान गर्ने सेवा आलोपालो गरी सेवाग्राहीलाई सेवा दिने निर्णय अनुरूप सो व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
अबदेखि आइतबार, मङ्गलवार, बिहीबार तीन दिन व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीहरूलाई सेवा प्रदान गरिने प्रशासनले जनाएको छ ।
त्यसैगरी सोमबार, बुधवार र शुक्रवार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको स्थानीयले सेवा पाउने प्रशासन कार्यालय तनहुँले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्