मुख्यमन्त्री पाण्डेद्वारा हेटौँडा औद्योगिक क्षेत्रको निरीक्षण
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आइतबार हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
कृषि औजार कारखाना र रासायनिक मल उद्योग स्थापना गर्न जग्गा खोजी गर्ने सिलसिलामा मुख्यमन्त्री पाण्डेले हेटौँडा औद्योगिक क्षेत्रको निरीक्षण गर्नुका साथै आवश्यक जानकारी लिनुभएको हो ।

प्रदेश सरकारले बजेटमा नै कृषि औजार कारखाना सञ्चालन गर्ने र वैदेशिक सहयोगमा रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गरेको थियो । उक्त उद्योग खोल्नका लागि आवश्यक जग्गाको विषयमा बुझ्न मुख्यमन्त्री पाण्डेले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग र वनस्पति घ्यू उद्योगको निरीक्षण गर्नुहुँदै तत्काल कृषि औजार उत्पादन गर्ने कारखाना सञ्चालन गर्न आवश्यक जग्गा उपलब्ध गराइदिन हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई आग्रह गर्नुभयो । उहाँले औद्योगिक क्षेत्रको सडक, वर्तमान अवस्थाको विषयमा व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलसँग जानकारी लिनुभएको थियो ।
औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कँडेलले त्यहाँको वर्तमान अवस्थाबारे मुख्यमन्त्री पाण्डेलाई जानकारी गराउनुभएको थियो । उहाँले औद्योगिक क्षेत्रमा हाल १ सय १० वटा उद्योग सञ्चालित रहेको साथै हाल औद्योगिक क्षेत्रको सबै जग्गा प्रयोगमा रहेको जानकारी दिनुभयो ।
उहाँले औद्योगिक क्षेत्रमा जग्गा ओगट्ने कम्पनीलाई बोलाएर उद्योग स्थापना कार्य अगाडि बढाउन आफूले निर्देशन दिएको समेत जानकारी गराउनुभयो ।
यसअघि शनिबार मुख्यमन्त्री पाण्डेले चितवनको कालिका नगरपालिका स्थित प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रहरूको स्थलगत निरीक्षण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्