तपाईँ सुन्दै हुनुहुन्छः

मुख्य राजमार्गमा सिसी क्यामरा जडान गर्दै प्रदेश सरकार

विराटनगर । प्रदेश १ सरकारले मुख्य राजमार्गहरूमा सिसी क्यामरा जडान गर्ने भएको छ । सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन मुख्य तथा सहायक राजमार्गमा प्रदेश सरकारले सिसी क्यामरा जडान गर्न लागेको हो ।

प्रदेश का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले रेडियो नेपालसँग कुरा गर्नुहुँदै कोशी पुलदेखि इटहरी हुँदै सिमानामा पर्ने मेची पुलसम्म, विराटनगरस्थित जोगवनी नाकादेखि धरानसम्म सी सी क्यामरा जडान गर्न तयारी शुरु गरिएको बताउनुभयो ।

उहाँले सिसी क्यामरा जडानका लागी प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको बताउनुभयो । राजमार्ग क्षेत्रमा हुन सक्ने घटना नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी हुने उहाँको भनाई छ ।

शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने विश्वास दिलाउन सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको मन्त्री कार्कीले बताउनुभयो । उहाँले प्राकृतिक विपत्तिबाट हुनसक्ने जोखिम न्युनिकरणदेखी कोभिड रोकथाम नियन्त्रण व्यवस्थापनमा प्रदेश सरकार सक्रिय भएर लागिरहेको बताउनुभयो ।

१४ वटै जिल्लामा गरिब, असक्त, महिलालाई लक्षित गरेर निःशुल्क कानूनी सहायता केन्द्र स्थापना गर्नेतर्फ प्रदेश सरकार लागिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button