प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्य सम्पादन गर्न सफल : प्रदेश प्रमुख खापुङ्ग

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश लोकसेवा आयोग निष्पक्ष रुपमा कार्य सम्पादन गर्दै जनतामा विश्वसनीयता कायम गर्न सफल भएको बताउनु भएको छ ।
प्रदेश लोक आयोगको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा विराटनगरमा आज आयोजित कार्यक्रममा उहाँले निष्पक्ष, दक्ष, इमानदार, समक्ष कर्मचारी उत्पादन गरेर आयोगले विश्वसनीयता कायम गरेको बताउनुभयो ।
प्रदेश प्रमुख खापुङ्गले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न प्रदेश सरकारले आयोगलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनशक्ति पूर्वाधारको अभाव साथै कानूनी अड्चनका बाबजुद पनि प्रदेश लोकसेवाले दुई वर्षको अवधिमा उल्लेखनीय काम गरेको बताउनुभयो ।

उहाँले निजामती ऐन आउन नसक्दा कानुनी वाधा अड्चनका कारण आयोगले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्नुहुँदै ऐन कानुन निर्माणमा सङ्घीय सरकारको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।
उहाँले सङ्घको निजामती ऐन जारी नभएको अवस्थामा प्रदेश निजामती ऐनमा मार्फत के कसरी आवश्यक कर्मचारी पदपूर्ति गर्ने सम्बन्धमा आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री राईले सङ्घीय सरकारले दिने अनुदानको बजेट रकम अत्यन्त कम भएको तथा, राजश्व सङ्कलन सीमित दायराको कारण प्रदेश सरकारले अपेक्षित रुपमा आफ्नो दायित्व पुरा गर्न नसकेको बताउनुभयो ।
सङ्घीय सरकारको नीति कार्यक्रमले प्रदेश र स्थानीय तह बलियो बन्न नसकेका कारण सङ्घीय प्रणालीमाथि नै प्रश्न उठिरहेको उहाँको भनाई थियो ।प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले सङ्घीय सरकारको समायोजन ऐनलाई टेकेर खाली भएका स्थानमा माग अनुसार कर्मचारी पदपूर्ति गर्न सकिने बताउनुभयो ।
प्रदेश लोकसेवा आयोगका सचिव यज्ञराज कोइराला र लोकसेवा आयोगका सदस्य सजना दाहालले प्रदेशका स्थानीय तहहरूले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्रदेश प्रमुख खापुङ्ग र मुख्यमन्त्री राईले संयुक्त रुपमा प्रदेश लोक सेवा आयोग स्मारिका विमोचन समेत गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्