झापा नेत्रहीन सङ्घद्वारा स्वरोजगार प्रवर्द्धनका लागि पशु चौपाया वितरण

भद्रपुर, झापा । झापा नेत्रहीन सङ्घले स्वरोजगार प्रवर्द्धनका लागि पशु चौपाया वितरण गरेको छ ।
सङ्घले शनिबार एक कार्यक्रम आयोजना गरी दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरूलाई गाई, बाख्रा र बङ्गुर वितरण गरेको हो ।
बिर्तामोड नगरपालिकाको संयोजन तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको नेत्रहीन सङ्घ झापाकी अध्यक्ष यसोदा बरालले जानकारी दिनुभयो । उहाँका अनुसार ३ वटा गाई, १८ बाख्रा र ७ वटा बङ्गुर वितरण गरिएको छ ।
वितरण गरिएका पशु चौपाया प्राप्त गर्ने दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले एक वर्षभित्र २५ प्रतिशत सङ्घलाई फिर्ता गर्नुपर्ने बताइएको छ । उनीहरूले फिर्ता गरेपछि अन्य व्यक्तिलाई वितरण गरिने सचिव भोजराज घिसिङले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले पशु चौपाया वितरण गर्नुभएको थियो । उहाँले वितरण गरिएको पशु चौपायाको त्यसको उचित स्याहार गरेर मनग्ये आम्दानी लिन र ती गाई, बाख्रा र बङ्गुरको बिमा गरेर सुरक्षित हुन आग्रह गर्नुभयो ।
वितरण गरिएका गाई, बाख्रा र बङ्गुरलाई बिर्तामोड नगरपालिकाको पशु शाखाले तत्कालै रोग प्रतिरोधात्मक खोप पीपीआर लगाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्