तपाईँ सुन्दै हुनुहुन्छः

अछामका ८ पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् पुग्यो

अछाम।अछाम जिल्लाको ढकारी गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार भएसङै जिल्लाका १० मध्ये ८ पालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले जिल्लाका विभिन्न पालिकामा विद्युतसेवा विस्तार गर्ने क्रममा ढकारीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ ।

जिल्लाको सदरमुकामबाट विकट मानिने ढकारी गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तारपछि स्थानीय समेत खुसी भएका छन् ।

विद्युत् वितरण केन्द्र तथा ढकारी गाउँपालिकाको लामो प्रयासपछि ढकारीमा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएको हो ।
अब जिल्लाका तुर्माखाँद र पञ्चदेवल विनायक नगरपालिकामा विद्युत् सेवा विस्तार हुन बाँकी छ ।

गाउँमा विद्युत् पुग्दा निकै खुसी भएको स्थानीय इन्द्र थापाले बताउनुभयो । यस्तै ढकारी गाउँपालिकामा विद्युत् विस्तार हुँदा निकै खुसी भएको ढकारी गाउँपालिकाका स्थानीय कृष्ण बुढाले बताउनुभयो । ढकारी गाउँपालिकामा विद्युत् सेवा विस्तार नहुँदा पक्की घर बनाउँदा, घरको सटर बनाउन महँगोमा जेनरेटर चलाएर बनाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

साथै फर्निचरका सामानहरू सहजै रुपमा बनाउन सकिने, घरमा मसला पिस्न मिक्सर चलाउन, चिसोमा हिटर बाल्न पसलमा फ्रिज राख्न सहज भएको बुढाले बताउनुभयो ।

पहिले बिजुली कस्तो हुन्छ भन्ने थाहा थिएन अहिले ढकारीमा विद्युत् आउँदा निकै खुसी भएको ढकारी गाउँपालिका १ का स्थानीय सरिता बुढाले बताउनुभयो । ढकारी गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार भइसकेपछि विद्युत्बाट हुन सक्ने दुर्घटनाबाट सचेत हुन ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले बताउनुभएको छ । अध्यक्ष बुढाले अहिले ढकारी गाउँपालिकाका केही वडामा बिजुली बालेका र यही आर्थिक वर्षमा ढकारी गाउँपालिकाका सबै वडामा विद्युत् सेवा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभएको हो ।

सिलगडी- साँफेबगर ३३ केभी प्रसारण लाइन अन्तर्गत जिल्लाका विभिन्न पालिकामा विद्युतसृवा विस्तार भैरहेकाे छ । जिल्लाको कमलबजारमा पनि विद्युत् प्रसारणको सब स्टेसन निर्माण भएको छ । यसलाई पूर्णता दिने कार्य भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button