राष्ट्रिय महिला हक्की प्रतियोगिता: नेपाल आर्मी र सुदूरपश्चिम फाइनलमा
बीरगंज । वीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता अन्तरगत आज नेपाल आर्मी र गण्डकी प्रदेशबिच भएको पहिलो सेमी फाइनल खेलमा नेपाल आर्मीले शून्यका विरुद्ध ३ गोलले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

नेपाल आर्मीकी जर्सी नम्बर ८ की खेलाडी सिता कुमारी चौधरीले खेल शुरु भएको १७ औँ मिनेट १ गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन । त्यसैगरी २५ औँ मिनेट जर्सी नम्बर ३० की अन्जना चन्द ठकुरी र ४६ औँ मिनेटमा जर्सी नम्बर १३ की नीलिमा पाण्डेले थप १/१ गोल गरेपछि आर्मीले गण्डकीलाई ३ गोलले पराजित गरेको हो ।
यसैगरी आजको प्रतियोगिताको ओमन अफ दि म्याचको उपाधि नेपाल आर्मीको जर्सी नम्बर ८ की खेलाडी सिता कुमारी चौधरीलाई घोषणा गरिएको थियो । आज सम्पन्न खेलसँगै नेपाल आर्मीको टिम फाइनलमा प्रवेश गरेको छ ।
यसैगरी आज भएको दोस्रो सेमिफाइनल खेलमा सुदूर पश्चिम प्रदेशले मधेस प्रदेशलाई शून्यका विरुद्ध २ गोलले हराएको छ ।
सुदूरपश्चिमकी जर्सी नम्बर ५ की खेलाडी लक्ष्मी बम र जर्सी नम्बर ७ की खेलाडी सुनिता नेगीले खेलको ५३ औँ र ५६ औँ मिनेटमा गोल गरेपछि सुदूरपश्चिम विजय भएको हो ।
भोलि फाइनल खेल हुने छ ।








प्रतिक्रिया राख्नुहोस्