प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित

काठमाडौँ ।प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।
पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवाँलो र हुस्सु÷कुइरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ ।
विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईँका अनुसार विशेष गरी देशको पूर्वी तराई भेगका विमानस्थलमा उडान प्रभावित भएको छ । अहिले विराटनगर, जनकपुर र सिमरामा उडान हुन सकेको छैन । विमानस्थलको पछिल्लो विवरणमा नेपालगन्ज, भैरहवा र पोखरा विमानस्थलमा उडान सुचारु भएको छ ।
एयरलाइन्स कम्पनीका अनुसार प्रतिकूल मौसमले कतिपय विमानस्थल अझै खुलेका छैनन् । केही विमानस्थल ढिलो गरी खुलेकाले तीन घण्टासम्म उडान ढिलो भइरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर विमानस्थल बिहान ११ः३५ बजे र विराटनगर विमानस्थल २ बजे मात्रै खुलेको छ । खुलेका विमानस्थलमा भने नियमित उडान भइरहेको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्