‘जाजरकोट भूकम्पको उच्च जोखिममा’
जाजरकोट । जाजरकोट जिल्ला भूकम्पको उच्च जोखिममा रहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ ।
२४ औँ भूकम्प दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय जाजरकोटले आयोजना गरेको कार्यक्रममा रहलागिले यस्तो उल्लेख गर्नुभयो ।

पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रवीण कार्कीले जाजरकोट पहाडी क्षेत्र भएकाले र जिल्लामा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्ड विपरीत रहेकाले यस क्षेत्रका संरचना भूकम्पको जोखिममा रहेको बताउनुभयो । २०५५ सालदेखि नेपालमा भूकम्प दिवस मनाउने गरेको भन्दै यसलाई सबैमाझ लैजानु आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले पश्चिम नेपालमा ठुलो भूकम्प नआएको जानकारी दिनुहुँदै आएमा ठुलो क्षति हुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले भूकम्पीय सचेतना सुरक्षित संरचना निर्माणमा सबैले जोड दिनुपर्ने बताउनुभयो । जाजरकोट जिल्ला पहाडी क्षेत्र बढी भएकाले भूकम्प जुनसुकै बेला आउन सक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभयो ।

खानेपानी, ऊर्जा तथा सिचाइ विकास कार्यालयका प्रमुख ज्वाला राज शाहीले जाजरकोट जिल्लामा भवन निर्माण गर्दा भवन निर्माण आचार संहितालाई पालना गरी भवन निर्माण गर्नुपर्ने बताउनुभयो ।
जाजरकोट प्रहरी प्रमुख मधुकुमार थापाले भूकम्पबाट सुरक्षित रहन भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा भेरी ४ का वडा अध्यक्ष खम्बजंग शाहले सदरमुकाम क्षेत्रमा कमजोर संरचना निर्माण भइरहेको बताउँदै यसले गर्दा भूकम्पीय जोखिम बढ्ने खतरा रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्