मेरिङ्देन गाउँपालिकालाई साक्षर पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । पालिकामा ९५.३९ प्रतिशत जनसङ्ख्या साक्षर भएसँगै साक्षर पालिका घोषणा गरिएको हो ।
पालिका भित्रका १५ वर्षभन्दा माथि उमेरका नागरिक ९५.३९ प्रतिशत साक्षर भएसँगै पालिकाले बुधवार साक्षर गाउँपालिका घोषण गरेको हो । गाउँपालिका भरी १५ बर्ष देखि ६० बर्ष उमेर समूहका ८ हजार ७ सय ९६ जनसङ्ख्या मध्ये ८ हजार ३ सय ९१ जना साक्षर छन् भने अहिले ४ सय ५ जना मात्र निरक्षर रहेका गाउँपालिकाका शिक्षा अधिकृत भीमप्रसाद पौडेल जानकारी दिनुभयो ।
उहाँले निरक्षरताको प्रतिशत ४.६१ मात्र रहेको जानकारी दिनुभयो । १५ बर्ष देखि ६० बर्ष उमेर समूहका ४ हजार १ सय ९० महिला मध्ये ३ हजार ८ सय ७६ जना अर्थात् ९२.९९ प्रतिशत मात्र साक्षर भएका छन् । यस्तै यो समूहका ४ हजार ६ सय ६ पुरुष मध्ये ४ हजार ५ सय २४ अर्थात् ९८.२२ प्रतिशत साक्षर भएको गाउँपालिकाले जनाएको छ ।
कुनै स्थानीय तह वा जिल्लामा बसोबास गर्ने १५ बर्ष र सो भन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएको अवस्थामा सो तहले साक्षर भएको मान्यता दिन सकिने भएको छ । निरक्षर रहेकाहरूलाई पनि बर्षदिन भित्रै साक्षर बनाउने गरी गाउँपालिकाले योजना तय गरेको समेत पालिकाले जनाएको छ ।
पालिका अन्तर्गत ३६ वटा सामुदायिक विद्यालय रहेका छन् । जिल्ला शिक्षा समिति प्रमुख एवम् जिल्ला समन्वय समिति प्रमुख प्रमुख घनेन्द्र मादेनको उपस्थितिमा पालिका अध्यक्ष गणेशबहादुर लिम्बूले साक्षर गाउँपालिका घोषणा गर्नु भएको थियो ।
साक्षर पालिका घोषणासँगै पालिकाको समग्र विकासको सूचकमा परिवर्तन आउने सहभागीले विश्वास लिएका छन् । साक्षर भन्नाले राष्ट्रभाषा र मातृभाषाका वर्ण/अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ गर्न सक्न हुनुपर्छ ।








प्रतिक्रिया राख्नुहोस्