तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रवर्षे मेलाका लागि सिङ्गारियो पनौती

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाट क्षेत्र हिजोआज सबै जनाको गन्तव्य बनेको छ । त्यहाँ रहेका मन्दिर, खोला, पाटीपौवा र धर्मस्थलमा र रङ्गरोगन तथा सरसफाइ मात्रै होइन, अन्य भौतिक पूर्वाधारसमेत निर्माण गरिएपछि पनौती आसपासका सर्वसाधारण त्रिवेणीघाटको फेरिएको रूप हेर्न जाने गरेका छन् ।

ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेला यस वर्ष परेको छ । सो अवसरमा पनौती नगरपालिकाले भक्तजन र दशर्नार्थीको सहजतालाई ध्यानमा राखी पनौती त्रिवेणीघाटस्थलको भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्धार तथा रङ रोगनको काम गरिरहेको छ । सो स्थल यति बेला बेहुली झैँ सिँगारिएको छ । बाह्रवर्षे मकर मेला सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । 

पनौती घुम्न पुगेका रामेछाप सदरमुकाम मन्थलीका कृष्ण श्रेष्ठले विगतको मेलामा भन्दा यस पटक धेरै व्यवस्थित गरिएको पाएको बताउनुभयो । “पहिला शौचालय र बाटोघाटोको समस्या थियो”, उहाँले भन्नुभयो, “यस पटक सबै कुरा व्यवस्थित पारिएको छ ।” एक महिना अगाडिदेखि सो क्षेत्रको सरसफाइ, भौतिक पूर्वाधार निर्माण र रङ रोगनको काम अघि बढाइएको वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताउनुभयो ।

पछिल्लो समय कोरोना सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिक स्थलमा भिडभाड नगर्न सचेत गराएको छ । कम सङ्ख्यामा भक्तजनको उपस्थिति गराइ स्नान गरी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । त्रिवेणीघाटमा मेला भर्न छिमेकी देश भारतबाट समेत साधुसन्त आइसकेका छन् । माघ महिनाभर लाग्ने सो मेलामा भारतीय तीर्थालुसमेत आउने गरेका छन् । 

त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात् गोरखनाथडाँडास्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । नगरपालिकाले मकर स्नानका लागि लीलावती र पुण्यमाता खोलाको पानी कुलोमार्फत बाहिर फालेर पिउनयोग्य तथा स्नान गर्न मिल्ने बनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button